काठमाडौँ
इजरायलले हामासले मृत तन्जानियाली बन्दी जोशुआ मोल्लेलको शव फिर्ता गरेको पुष्टि गरेको छ। मोल्लेल सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा दक्षिण इजरायलमा रहेको नाहल ओज नामक कृषि क्षेत्रबाट अपहरणमा परेका थिए। इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौताअन्तर्गत उनको शव बुधबार फिर्ता गरिएको हो। फोरेन्सिक परीक्षणपछि उनको परिवारलाई यो जानकारी दिइएको बताइएको छ।
मोल्लेलको शव फिर्ता भएपछि अहिले पनि पाँच जना इस्रायली र एक जना थाई नागरिकको शव गाजा स्ट्रिपमा बाँकी रहेको छ। इजरायली सरकारले सबै मृतक बन्दीहरूको शव फिर्ता गर्न हमासलाई सम्झौताअनुसार बाध्य रहेको जनाएको छ र बाँकी शवहरू फिर्ता गर्न हरसम्भव प्रयास गरिने बताएको छ। इजरायलको "होस्टेजेस एण्ड मिसिङ फ्यामिलिज फोरम" ले लामो अनिश्चितता भोगिरहेका मोल्लेल परिवारलाई कम्तीमा अब केही सान्त्वना प्राप्त भएको बताएको छ।
हमासले बुधबार साँझ रेडक्रसलाई शव हस्तान्तरण गर्नुअघि गाजाको शेजैया क्षेत्रमा एक बन्दीको शव फेला परेको दाबी गरेको थियो। हालै इजरायलले हमासका सदस्यहरू र रेडक्रसलाई उक्त क्षेत्रमा शव खोज्ने अनुमति दिएको थियो, जहाँ मंगलबार इस्रायल-अमेरिकी सैनिक इताय चेन् को शव पनि भेटिएको थियो। यसले युद्धविरामपछि शव खोज्ने कार्यमा केही प्रगति भएको देखाएको छ।
१० अक्टोबरमा लागू भएको युद्धविराम सम्झौताका पहिलो चरण अन्तर्गत हमासले ७२ घण्टाभित्र २० जीवित र २८ मृत इस्रायली तथा विदेशी बन्दीहरू फिर्ता गर्ने सहमति गरेको थियो। जीवित बन्दीहरूलाई २५० पालेस्टिनी कैदी र १,७१८ जना गाजावासीको रिहाइको साटोमा फिर्ता गरिएको थियो। तर बाँकी शवहरू फिर्ता गर्न ढिलाइ भइरहेको भन्दै इजरायलले हमासमाथि आरोप लगाएको छ। यसबीच गाजामा दुई वर्षदेखि जारी युद्धमा ६८,८०० भन्दा बढी मानिस मारिएका छन् भन्ने तथ्यांक हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ।