काठमाडौँ
प्रधानमन्त्री सुशीला कार्की आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग विशेष छलफल गर्दैछिन्। बैठक दिउँसो ४ बजे बालुवाटारमा बस्ने तयारी भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह उपस्थित रहनेछन्।
प्रधानमन्त्री कार्कीले संघ र प्रदेश सरकारबीचको समन्वय र संवादलाई अझ सघन बनाउन बैठक आह्वान गरेको बताइएको छ। यो पहल परिवर्तित राजनीतिक अवस्थामा दुवै तहको सरकारबीच सहकार्य मजबुत बनाउने लक्ष्यमा केन्द्रित रहेको छ।
स्रोतका अनुसार बैठकमा प्रदेश सरकारका प्रमुखहरूलाई समसामयिक मुद्दा, नीति तथा योजनाको प्रभावकारी कार्यान्वयन र सहयोगका उपायहरूमा छलफल गरिने छ। यसले संघ–प्रदेश सम्बन्धलाई थप सकारात्मक दिशा दिन मद्दत पुग्ने अपेक्षा गरिएको छ।