काठमाडौँ
गाजा स्ट्रिपमा करिब दुई दशकदेखि शासन गर्दै आएको हमासले युद्धविराम लागू भएपछिपनि आफ्नो राजनीतिक र सैन्य नियन्त्रण पुनःस्थापित गर्न खोजिरहेको देखिन्छ। युद्धविरामपछि सार्वजनिक भएका तस्बिर र प्रतिवेदनहरूले हमासका सदस्यहरू प्रतिद्वन्द्वी समूह र अपराधी गिरोहहरूमाथि कठोर कारबाही गरिरहेको देखाएका छन्। यसले जनतालाई डर र नियन्त्रणको वातावरणमा राख्ने प्रयासको संकेत गर्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले प्रस्तुत गरेको २० बुँदे गाजा शान्ति योजनाले हामासलाई हतियार त्याग्न र अन्तर्राष्ट्रिय स्थायित्व बललाई शासन हस्तान्तरण गर्न आग्रह गरेको थियो। तर हमासले यो माग अस्वीकार गरी आफ्नो शासनलाई बलपूर्वक कायम राख्ने नीति अपनाएको देखिन्छ। दुई वर्ष लामो युद्धमा ६८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ, जसले गाजाको प्रशासनिक संरचना र कानुनको शासनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाएको छ।
हमासका प्रमुख नेताहरू इस्माइल हानियेह र याह्या सिनवार इजरायली आक्रमणमा मारिए पनि संगठन अझै सक्रिय छ। यसको भूमिगत सुरुङ सञ्जाल आंशिक रूपमा नष्ट भए पनि बाँकी संरचनाले समूहलाई पुनःसंगठित हुन मद्दत गरेको छ। हमासका पूर्व सल्लाहकार अहमद यूसुफले संगठन अब राजनीतिक रूपान्तरणको बाटोमा अघि बढ्ने संकेत दिएका छन्, यद्यपि धेरै विज्ञहरूले यो केवल रणनीतिक बयान हो भन्ने ठान्छन्।
कतिपय इस्रायली र क्षेत्रीय विश्लेषकहरूका अनुसार, गाजामा नयाँ शासन संरचना आए पनि पर्दामागर हमासको प्रभाव रहिरहने सम्भावना छ। उनीहरूका अनुसार, हमासले आफ्नो राजनीतिक अस्तित्व बचाउन नयाँ गठबन्धन र रूपरेखा तयार पारिरहेको छ। तर यदि स्थायी समाधान खोजिएन भने, पाँच वर्षभित्र अर्को ठूलो संघर्ष भड्किन सक्ने चेतावनी पनि दिइएको छ।