काठमाडौँ ।
आठ प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूले प्रतिनिधि सभा विघटनलाई 'जेन जी आन्दोलनको मर्म र संविधान विपरित' भन्दै यस निर्णयको तत्काल फिर्ता र संसदको बैठक बोलाउन माग गरेका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक भएकोमा जोड दिएका छन्।
विज्ञप्तिमा भनिएको छ कि प्रतिनिधि सभा विघटनको निर्णय तत्काल फिर्ता लिई संसदको बैठक बोलाइनु पर्छ। यसका साथै, नागरिक र आन्दोलनरत समूहका मागहरू जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न पनि उनीहरूले माग गरेका छन्।

विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालर नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतकहरू रहेका छन्।
यद्यपि, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने यस विज्ञप्तिमा हस्ताक्षर गरेका छैनन्।
यो विज्ञप्तिले मुलुकको वर्तमान राजनीतिक अवस्थामा नयाँ बहस सिर्जना गरेको छ, जहाँ संसदको भूमिका र संवैधानिक सर्वोच्चतामाथि प्रश्न उठेको छ। प्रमुख दलहरूको यो एकताबद्ध मागले सरकारमाथि संसदको बैठक बोलाउन र राजनीतिक गतिरोध अन्त्य गर्न दबाब बढाएको छ।