काठमाडौँ।
नेपाली सेनाले वर्तमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टिकाटिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेको भन्दै भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम नागरिकमा अनुरोध गरेको छ।
जङ्गी अड्डा, जनसम्पर्क निर्देशनालयले शुक्रबार बिहान एक सूचना जारी गर्दै भनेको छ, "विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिकाटिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएको छ। तसर्थ भ्रामक र झुटा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणहरूमा नेपाली सेना आग्रह गर्दछ।"
सेनाले सूचना आदानप्रदानका लागि जनसम्पर्क निर्देशनालय लगायत देशभर रहेका पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न पनि आग्रह गरेको छ। यसका लागि सेनाले ८ वटा पृतना हेडक्वार्टरका मोबाइल नम्बरसहितको विवरण सार्वजनिक गरेको छ।
सेनाले आधिकारिक जानकारीका लागि आफ्ना प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालहरूलाई मात्र आधार मान्न सर्वसाधारणलाई अनुरोध गरेको छ।