काठमाडौँ ।
कृषिमन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्। नेपाली काँग्रेसका नेता डॉ. शेखर कोईरालाले चीनबाटै निर्देशन दिएपछि कोइराला निकट मन्त्री अधिकारीले राजीनामा दिएको बुझिएको छ।
सोमबार 'जेन-जी' आन्दोलनमा सरकारले दमन गर्दा १९ जना युवाको मृत्यु भएपछि चीन भ्रमणमा रहेका कांग्रेस नेता कोइरालाले आफ्नो समूहबाट सरकारमा सहभागी मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएका थिए।
शेखर समूहबाट सरकारमा रहेका अन्य मन्त्रीहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी छन्। यी मन्त्रीहरूमाथि पनि अब राजीनामाको दबाब बढेको छ।
यसअघि नै कांग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखकले घटनाकै दिन सोमबार साँझ आफ्नो पदबाट राजीनामा दिइसकेका छन्। जेन-जी आन्दोलनमा भएको दमनपछि कांग्रेसभित्र र सरकारमाथि नैतिक दबाब बढेको छ।