काठमाडौँ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी इन्स्पेक्टर दिनेश गुरुङ आफ्नी पूर्वपत्नीलाई बलात्कार प्रयासपछि निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनले गत शुक्रबार राति ललितपुरको इमाडोलस्थित पूर्वपत्नी शुभद्रा दाहालको डेरामा पुगेर आक्रमण गरेको पीडितले बताएकी छिन्।
पीडित शुभद्राका अनुसार, रुकुम पश्चिम घर भएका गुरुङ सानी छोरीलाई पुर्याउने बहानामा शुक्रबार राति करिब ८:२२ बजे उनको डेरामा आएका थिए। त्यसपछि उनले जबरजस्ती करणीको प्रयास गरेको र प्रतिकार गर्दा आफूमाथि निर्घात कुटपिट गरेको शुभद्राको भनाइ छ। आक्रमणपछि निधारबाट रगत बगिरहेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले सहयोगका लागि अपिल गरेकी थिइन्।
घटनाका बेला ठूली छोरीले तत्कालै १०० मा फोन गरेर प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरी घटनास्थलमा पुगेपछि मात्र आफू बच्न सफल भएको शुभद्राले बताएकी छन्। प्रहरीले उनलाई तत्कालै उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो।
पीडित शुभद्राले जिल्ला प्रहरी परिसर, ललितपुरमा गुरुङविरुद्ध जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएकी छन्।
परिसरका सूचना अधिकारी, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले घटनाको पुष्टि गरेका छन्। एसपी जोशीका अनुसार, आरोपित इन्स्पेक्टर गुरुङ स्वयं प्रहरीमा उपस्थित भएका थिए। ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान अगाडि बढाइएको जोशीले जानकारी दिए।