काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाले मनोहरा खोला किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा झडप भएको छ। अवैध रूपमा निर्माण गरिएका घरहरू भत्काउन डोजरसहित पुगेको महानगरको टोलीलाई स्थानीयले प्रतिकार गरेपछि स्थिति तनावग्रस्त बनेको हो।
महानगरको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा खटिएको टोलीले बस्तीका संरचना भत्काउन सुरु गरेपछि स्थानीयवासी प्रतिकारमा उत्रिएका थिए। दुई पक्षबीच धकेलाधकेल र तनावको अवस्था सिर्जना भएपछि स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ।

काठमाडौं महानगरपालिकाले नदी किनारको संरक्षण गर्ने र सार्वजनिक भूमिमा बनेका अवैध संरचना हटाउने अभियान चलाउँदै आएको छ। सोही अभियानअन्तर्गत मनोहरा खोला किनारको बस्ती हटाउन लागिएको महानगरले जनाएको छ।
स्थानीयले भने आफूहरूको उचित व्यवस्थापन बिना हटाउन नहुने भन्दै विरोध गर्दै आएका छन्। झडपका कारण त्यस क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ।