काठमाडौँ ।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले गाईजात्रा पर्व मृत्युको शोकमा रहेकाहरूलाई सान्त्वना दिने उद्देश्यले सुरु भए पनि समयक्रममा यो हास्यव्यङ्ग्य प्रस्तुत गर्ने अवसरका रूपमा रूपान्तरित भएको बताएका छन्
आइतबार गाईजात्राको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले मृत्यु शोकमा रहेका परिवारलाई ‘मृत्यु सबैको साझा सत्य हो’ भन्ने मनोवैज्ञानिक सन्देश दिन यो पर्वको सुरुवात भएको बताए ।
"सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको यो पर्व समयक्रममा हास्यव्यङ्ग्यतर्फ रूपान्तरित भएको पाइन्छ," प्रधानमन्त्री ओलीले भने।
उनले सांस्कृतिक रूपमा दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा मनाउने परिवारको शोक छिट्टै निवारण होस् भन्ने कामना गरेका छन् । साथै, उनले यस पर्वलाई व्यङ्ग्यविनोदका रूपमा मनाउनेहरूलाई स्वस्थ मनोरञ्जन प्राप्त होस् भनी शुभकामना व्यक्त गरेका छन्।