काठमाडौँ।
भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई उद्धार गरी नेपाल फर्काइएको छ। आवश्यक कागजात (एनओसी) बिना अवैध रूपमा तेस्रो मुलुक जान लागेका उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा नियन्त्रणमा लिइएको हो।
दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश मल्लसहितको टोलीले उनीहरूलाई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देहीको सुनौली नाकाबाट नेपाल ल्याएको थियो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले महिलाहरूलाई प्रशासनको जिम्मा लगाइएको र हाल उनीहरूलाई प्रहरीले थप अनुसन्धानका लागि काठमाडौं ल्याइरहेको जानकारी दिए।
यसैबीच, गृहमन्त्री रमेश लेखकले यस घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरीलाई कडा निर्देशन दिएका छन्। गृह मन्त्रलयका अनुसार, मन्त्री लेखकले मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई घटनाको विस्तृत अनुसन्धान गरी यसमा संलग्न दोषीहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्।
यो घटनाले वैदेशिक रोजगारीका नाममा मानव तस्करहरूले नेपाली महिलाहरूलाई अवैध तरिकाले तेस्रो मुलुक हुँदै पठाउने सञ्जाल सक्रिय रहेको देखाएको छ।