काठमाडौँ।
काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट यही असार ३२ गते पारित हुने भएको छ। आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा मेयर बालेन्द्र शाह (बालेन)ले बजेट र नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्नका लागि उक्त मिति तोकेका हुन् ।
मेयर शाहले आगामी बैठक असार ३२ गते मंगलबार दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा बस्ने जानकारी दिए। उक्त बैठकमा चालू आर्थिक वर्षको प्रगति समीक्षाका साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक र विनियोजन विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।
"यस सभामा पेस भएको चालू आर्थिक वर्षको प्रगति समीक्षा र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक–२०८१ र विनियोजन विधेयक–२०८१ उपर छलफल र पारित गर्न २०८१ साल असार ३२ गते दिउँसो २ बजे बैठक बस्नेछ," मेयर शाहले बैठक समापन गर्दै भने।
यसअघि आइतबारकै बैठकमा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् ।