काठमाडौँ।
काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका सामुदायिक विद्यालयहरूमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा कमजोर आएपछि त्यसको कारण पहिचान गर्न सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई निर्देशन दिएको छ। विशेषगरी, ५० प्रतिशतभन्दा बढी विद्यार्थी 'नन-ग्रेडेड' (NG) भएका र विगत तीन वर्षदेखि अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यालयका प्रधानाध्यापकहरूसँग महानगरले छलफल गरेको हो।
कामपाकी उपप्रमुख सुनिता डंगोलले विद्यालयको नेतृत्वकर्ताका रूपमा प्रधानाध्यापकहरूलाई नतिजा खस्कनुको वास्तविक कारण खोज्न आग्रह गरेकी छिन् । "साझेदारहरू एकै ठाउँमा बसेर एउटै दृष्टिबाट काम गर्ने हो भने हरेक समस्याको समाधान खोज्न सकिन्छ," उनले भनिन्, "अबको एक महिना नन-ग्रेडेड भएका विद्यार्थीलाई पढाएर नतिजा सुधारका लागि काम गरौँ। त्यसपछि सबै समस्या केलाएर थप कार्यक्रम बनाउँला।"
छलफलमा कामपाका शिक्षा अधिकृत केशव ज्ञवालीले कमजोर नतिजा आउनुका पछाडि विभिन्न कारणहरू रहेको औँल्याएकी छिन्। उनले प्रधानाध्यापक र शिक्षक तथा शिक्षक र विद्यार्थीबीचको सुमधुर सम्बन्धको कमी, विद्यार्थीको कमजोर घरायसी वातावरण, विद्यार्थीहरू पढाइसँगै श्रममा संलग्न हुनुपर्ने बाध्यता र अभिभावकको नियन्त्रणबाहिर रहनुजस्ता पक्षहरूले नतिजामा असर पारेको धारणा राखिन्।
कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले नतिजा सुधारका लागि आगामी एक महिना अतिरिक्त कक्षा सञ्चालन गर्ने र विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले कमजोर नतिजाका लागि विद्यालय, अभिभावक र स्वयं विद्यार्थीको पनि बराबर भूमिका रहेको बताए।
वि.सं. २०८१ को एसईईमा काठमाडौं महानगरपालिकाका ५८ वटा सामुदायिक विद्यालयबाट ४ हजार ५६ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ९५६ जना विद्यार्थी 'नन-ग्रेडेड' भएका छन्, जसले पुनः परीक्षा दिनुपर्नेछ। यद्यपि, नतिजाको अर्को पाटो सकारात्मक पनि छ। यस वर्ष ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका छन्, जसमा १७ जनाले ४ जीपीए प्राप्त गरेका छन्। गत वर्ष यो संख्या ५४५ मात्र थियो, जसको तुलनामा यस वर्ष उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या २४४ ले बढेको छ।