काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा विश्वभरका प्रहरी संगठनबीच द्विपक्षीय तथा बहुपक्षीय सहकार्य विस्तार, प्रविधिको उपयोग, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि र अन्तरदेशीय अपराध नियन्त्रणका उपायबारे व्यापक छलफल भएको जानकारी दिएका हुन्।
आईजीपी कार्कीका अनुसार सम्मेलनले अन्तर्राष्ट्रिय समन्वयको आवश्यकतालाई थप स्पष्ट बनाएको छ। उनले सूचना आदान–प्रदान, आधुनिक प्रविधिको प्रयोग, अनुसन्धान क्षमता विकास तथा अन्तरदेशीय अपराध नियन्त्रणका लागि विश्वका प्रहरी संगठनबीच सहकार्य अझ मजबुत बनाउनुपर्नेमा सहभागी राष्ट्रहरूबीच समान धारणा रहेको बताए।
उनले नेपालले जिम्मेवार साझेदारका रूपमा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै समुदाय–प्रहरी साझेदारी, अनुसन्धान क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय निकायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता सम्मेलनमा दोहोर्याइएको जानकारी दिए।
कार्कीले युएन प्रहरी प्रमुखहरूको शिखर सम्मेलन नेपाल प्रहरीका लागि विश्वका उत्कृष्ट अभ्यास सिक्ने, अनुभव आदान–प्रदान गर्ने तथा भावी सहकार्यका नयाँ अवसर पहिचान गर्ने महत्वपूर्ण मञ्च बनेको बताए। सम्मेलनबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई नेपालको सार्वजनिक सुरक्षा, शान्ति र अमनचयनलाई थप प्रभावकारी बनाउन उपयोग गरिने उनको भनाइ छ।
त्यसैगरी, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता बढाउने विषयमा पनि विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता भएको उनले जानकारी दिए। उनका अनुसार सशस्त्र प्रहरी बलको 'फर्म्ड पुलिस युनिट (एफपीयू)' ले लेभल–३ हासिल गरिसकेको छ भने नेपाल प्रहरी हाल लेभल–२ मा रहेको छ। आवश्यक स्रोत–साधन व्यवस्थापन गर्न सके नेपाल प्रहरी पनि लेभल–३ मा पुग्ने सम्भावना रहेको उनले बताए।
आईजीपी कार्कीले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको संयुक्त राष्ट्रसंघका शान्ति मिसनमा सहभागिता विस्तारलाई प्राथमिकताका साथ अघि बढाइने पनि स्पष्ट पारे।