काठमाडौँ ।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले जननेता मदन भण्डारीलाई नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा दिने अगुवा नेताको रूपमा स्मरण गरेका छन्। भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री ओलीले भण्डारीले कम्युनिष्ट आन्दोलनलाई ‘सिद्धान्तका लागि जीवन’ नभई ‘जीवनका लागि सिद्धान्त’ को व्यवहारिक मान्यतामा स्थापित गरेको बताएका छन्।
सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका छन्, “नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा, जननेता मदन भण्डारीको आज ७४औँ जन्मजयन्ती। जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।”
आज नेकपा (एमाले) र उसका विभिन्न जनवर्गीय सङ्गठनहरूले देशभर विविध कार्यक्रम आयोजना गरी जननेता भण्डारीको ७४औँ जन्मजयन्ती मनाइरहेका छन्। भण्डारीलाई नेपाली राजनीतिमा मार्क्सवादको सिर्जनात्मक प्रयोगकर्ता र जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा स्मरण गरिन्छ।