काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ। लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका स्थानीयहरू लालपुर्जा प्राप्त गरेपछि कानुनी रूपमा जग्गाधनी बनेका छन्।
यसैगरी, आजै झापाको कनकाई नगरपालिकामा पनि पाँच भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण गरिएको छ। सरकारले देशभरका भूमिहीन र सुकुम्बासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै लालपुर्जा वितरण अभियानलाई तीव्रता दिएको छ। यस कदमले वर्षौँदेखि बसोबास गर्दै आएका तर कानुनी स्वामित्व नभएका नागरिकहरूलाई ठूलो राहत पुगेको छ।
