काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त नेपालको लोकतन्त्र अपहरित भएको दाबी गरेका छन्। ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित एक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले लोकतन्त्रलाई सुदृढीकरण गर्ने भन्दा पनि 'फिर्ता लिनुपर्ने' (अपस लिनुपर्ने) चुनौतीपूर्ण अवस्था सिर्जना भएको बताए।
अध्यक्ष ओलीले चुनाव हुनु मात्रै लोकतन्त्रको पूर्ण अभ्यास नभएको तर्क गर्दै निर्वाचन कुन अवस्थामा र केका लागि गरियो भन्ने कुरा महत्त्वपूर्ण हुने उल्लेख गरे। उनले भदौ २३ र २४ गते भएका जनधनको क्षति र हिंसात्मक घटनाहरूलाई नेपालको इतिहासकै अकल्पनीय र भयानक क्षणका रूपमा चित्रण गरे।
"राणाशासन, पञ्चायत वा २०६२/६३ सालको आन्दोलनमा समेत नदेखिएको आतङ्क र भयत्रास अहिले देखिएको छ," ओलीले भने। उनले संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि संविधान निर्माता प्रमुख दलहरूले आफ्नो भूमिका र दायित्व गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए। एमाले राजधानी प्रदेश कमिटीले आयोजना गरेको उक्त कार्यक्रममा ओलीले वर्तमान राजनीतिक परिस्थितिको कडा आलोचना गरेका थिए।