काठमाडौँ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले देशप्रतिको अगाध प्रेम (पिरती) का कारण आफू मन्त्री बने पनि व्यवहारतः 'जोगी' भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले चर्चित गीत ‘पिरतीले जोगी बनायो’ उद्धृत गर्दै आफ्नो राजनीतिक यात्राको रोचक व्याख्या गरे।
"म सांसद वा मन्त्री हुने मान्छे त होइन, तर देशसँगको पिरतीले मलाई यहाँ पुर्यायो," मन्त्री पुनले भने। उनले आफ्नो पिरती सुरुमा गाउँबाट सुरु भएको र पछि जिल्ला हुँदै देशसम्म फैलिएको बताए। अमेरिकाबाट घुम्न आएको बेला गाउँको सेवामा लाग्दालाग्दै आफू यो अवस्थामा आइपुगेको उनको भनाइ थियो।
मन्त्री पुनले आफूलाई 'पक्का जोगी' को संज्ञा दिँदै व्यावहारिक रूपमा पनि आफूमा कुनै विलासिताको मोह नरहेको स्पष्ट पारे। देशको सेवामा लाग्दा आफूले जोगीको जस्तै जीवन र अनुभूति गरिरहेको उनले संसद्मा सुनाए। मन्त्री पुनको यो सरल र ठट्यौली शैलीको सम्बोधनले सदनमा केही बेर हाँसो समेत फैलाएको थियो।