काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, तीव्र विकास, शान्ति र प्रगति नै नेपाली जनताको मुख्य चाहना भएको बताएका छन्। लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष गरेका नागरिकको अपेक्षा पूरा गर्न राज्य संयन्त्र जनमुखी, सेवामुखी र प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले आधुनिक प्रशासनका लागि आत्मप्रेरित, अनुशासित र नैतिकवान कर्मचारीतन्त्र अनिवार्य रहेको उल्लेख गर्दै स्मार्ट सेवा प्रवाहमार्फत नागरिकको विश्वास जित्न आग्रह गरे। "संविधानले अंगीकार गरेको समावेशी लोकतन्त्रको मर्मअनुसार योग्यता प्रणालीको रक्षा गर्नु र त्यसलाई थप सुदृढ बनाउनु अहिलेको आवश्यकता हो," उनले भने।
आयोगले साढे सात दशकदेखि योग्यता, निष्पक्षता र स्वच्छताका आधारमा गरेको योगदानको प्रशंसा गर्दै राष्ट्रपतिले आगामी दिनमा कार्यशैलीलाई अझ आधुनिक, वैज्ञानिक र गुणस्तरीय बनाउनुपर्ने चुनौती रहेको औँल्याए। उनले योग्य युवाहरूलाई अवसर दिने प्रणालीलाई थप पारदर्शी बनाउँदै लोकसेवा आयोगप्रतिको जनभरोसालाई कायम राख्न सुझाव समेत दिए।