काठमाडौँ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय र मातहतका निकायबाट सेवा लिने क्रममा कसैले तोकिएको शुल्कभन्दा अतिरिक्त रकम (घुस) मागेमा तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गरेका छन्। मन्त्री श्रेष्ठले प्रमाणसहित मन्त्रालयको हटलाइन नम्बर ११५१ मा उजुरी गर्न सेवाग्राहीलाई आह्वान गरेका हुन्।
पदभार ग्रहण गरेदेखि नै जनगुनासो सुनुवाइलाई प्राथमिकतामा राखेका मन्त्री श्रेष्ठको निर्देशनमा हटलाइन सेवालाई थप सक्रिय र परिणाममुखी बनाइएको छ। मन्त्रालयका अनुसार हालसम्म हटलाइनमार्फत प्राप्त १३ हजार ८८ वटा गुनासोहरू सम्बोधन भइसकेका छन्। जसमा मुख्यगरी विद्युत् अवरोध (नो लाइट), ट्रान्सफर्मर मर्मत, पोल तथा मिटर अभाव र भूमिगत विद्युत् जडान जस्ता समस्याहरू रहेका छन्।