काठमाडौँ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि सरकार पूर्ण रूपमा गम्भीर रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभाको ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’ को बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस आयोजनालाई रणनीतिक महत्त्वको परियोजनाका रूपमा अघि बढाइने प्रतिबद्धता जनाए।
मन्त्री श्रेष्ठका अनुसार बुढीगण्डकी आयोजना सम्पन्न भएमा यसले काठमाडौँ, पोखरा र चितवनजस्ता प्रमुख सहरहरूको ऊर्जा आपूर्तिलाई सन्तुलित बनाउनेछ। उनले आयोजनालाई कम्पनी मोडेलबाट अघि बढाउने वा छुट्टै प्राधिकरणमार्फत कार्यान्वयन गर्ने भन्ने मोडालिटीका विषयमा अहिले सघन छलफल भइरहेको जानकारी दिए।
आयोजनाको भौतिक प्रगति अपेक्षाअनुसार नभए पनि वित्तीय प्रगति सन्तोषजनक रहेको र प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको उनले बताए। प्रसारण लाइन र पहुँच मार्गको ठेक्का प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै मन्त्री श्रेष्ठले यो आयोजना मुलुकको ऊर्जा सुरक्षाका लागि कोशेढुङ्गा सावित हुने उल्लेख गरे। गोरखा र धादिङको सीमामा बन्ने यस आयोजनाबाट ८ हजार १ सय १७ घरपरिवार प्रभावित हुनेछन्।