काठमाडौँ ।
काठमाडौंको बालुवाटारस्थित रोयल एम्पायर बुटिक होटलमा आयोजित एक विशेष समारोहबीच बी एन्ड बी टेक ग्रुपले आफ्नो नयाँ ई–टिकेटिङ मोबाइल एप ‘तिम्रो टिकट’ सार्वजनिक गरेको छ। सन् २०१८ मा डा. विकास लम्साल र इन्जिनियर विमल कुमार केसीद्वारा स्थापित यस कम्पनीले प्रविधि, अनुसन्धान, शिक्षा र मनोरञ्जन क्षेत्रलाई एकै ठाउँमा जोड्ने गरी नयाँ व्यावसायिक उद्यमहरूको पनि औपचारिक आरम्भ गरेको छ।
कार्यक्रममा बी एन्ड बी टेक्निकल रिसर्च इन्स्टिच्युट, फिस्टेल एकेडेमी ब्रिज र हाकिम इन्टरटेन्मेन्टसँगको संयुक्त सहकार्यको घोषणा गरियो। यी संस्थाहरूले नेपालमा नवीन अवसरहरू सिर्जना गर्ने र युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरको सीप र प्रविधिसँग जोड्ने लक्ष्य लिएका छन्।
मुख्य आकर्षणको रूपमा रहेको ‘तिम्रो टिकट’ एपले सांगीतिक कन्सर्ट, खेलकुद, सांस्कृतिक गतिविधि तथा अन्य सार्वजनिक कार्यक्रमहरूको टिकट खरिद र व्यवस्थापनलाई डिजिटल, सुरक्षित र सहज बनाउनेछ। जापानका प्रतिष्ठित कम्पनीहरूसँग सहकार्य गर्दै आएको यस ग्रुपका अध्यक्ष डा. लम्सालले आफ्नो अन्तर्राष्ट्रिय अनुभव साटेका थिए भने र्यापर सुरेन्द्र गुरुङ (हाकिम) र फिस्टेल एकेडेमीका सञ्चीव अर्यालले आ–आफ्नो क्षेत्रको भावी योजनाबारे जानकारी दिएका थिए। यस एपले नेपालमा डिजिटल टिकटिङ संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।