काठमाडौँ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ। शुक्रबार पारदर्शी चिठ्ठा प्रक्रियामार्फत ४९ वटा ब्रान्डका लागि स्टलहरू वितरण गरिएको हो।
एक्स्पोमा २६ वटा चार पांग्रे र २३ वटा दुई पांग्रे तथा व्यावसायिक सवारी साधनका ब्रान्डहरू सहभागी हुनेछन्। नाइमाका अध्यक्ष रितु सिंह वैद्यले यस एक्स्पोलाई नेपालमा आधुनिक र दिगो गतिशीलता प्रवर्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताइन्। एक्स्पो आयोजना समितिका अध्यक्ष गौरव शारदाले ४९ ब्रान्डको सहभागिताले प्रदर्शनीप्रति उद्योग क्षेत्रको बढ्दो आकर्षण पुष्टि गरेको उल्लेख गरे।

एक्स्पोमा नयाँ उत्पादन सार्वजनिकरण, अत्याधुनिक प्रविधि प्रदर्शन र ज्ञानमूलक सत्रहरू समावेश हुनेछन्। प्रदर्शनीको समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन्सले गर्नेछ भने डिजिटल साझेदारका रूपमा डिजिपल सलुसन्स र पब्लिकेसन्स साझेदारका रूपमा प्रफिट मिडिया रहेका छन्। यस मेलाले उपभोक्ता र व्यवसायीलाई एकै स्थानमा जोड्दै नेपालको मोबिलिटी क्षेत्रको भविष्य चिन्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।