काठमाडौँ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेका उपकुलपति पदका लागि नाम सिफारिस गर्न आवेदन खुला गरेको हो ।
मन्त्रालयका अनुसार उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ अनुसार योग्य, अनुभवी, निष्पक्ष र नतिजामुखी नेतृत्व चयन गर्ने उद्देश्यसहित प्रक्रिया अघि बढाइएको छ । इच्छुक योग्य व्यक्तिले सूचना प्रकाशित भएको १० दिनभित्र मन्त्रालयको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।