काठमाडौँ
म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लामा फलफूलबालीमा लाग्ने रोगकिरा नियन्त्रणका लागि रासायनिक विषादीको विकल्पस्वरूप ‘जैविक झोल’ प्रयोग गर्न थालिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, जोमसोममार्फत स्थानीय जडीबुटी र घाँसको मिश्रणबाट तयार गरिने उक्त झोल प्रयोगमा ल्याइएको हो ।
परियोजनाले ‘इपिफाइटिक ल्याक्टिक एसिड ब्याक्टेरिया’ नाम दिएको यो जैविक झोल गत वर्ष परियोजनाको स्याउ बगैँचामा परीक्षण गरिएको थियो । परीक्षण सफल भएपछि यस वर्षदेखि मुस्ताङका किसानहरूले आफ्नो स्याउ बगैँचामा प्रयोग गर्न थालेका छन् । परियोजनाका प्रमुख भरतराज गौतमका अनुसार झोल बनाउन ५० प्रतिशत तितेपाती तथा बाँकी कोते, झिम्सी र राईघाँस मिसाएर ओखलमा कुटी निचोरेर झोल निकालिन्छ । त्यसपछि तीन दिनसम्म करिब ३० डिग्री सेल्सियस तापक्रममा राखेपछि झोल अमिलो बन्छ ।
एक किलो घाँसबाट करिब तीन लिटर झोल उत्पादन गर्न सकिने र एक बोतल झोललाई ४० लिटर सफा पानीमा मिसाएर बिरुवामा छर्कन सकिने परियोजनाले जनाएको छ । परियोजनाका अनुसार यस जैविक झोलले बोटबिरुवाका लागि आवश्यक मित्र जीवाणु सक्रिय बनाउने तथा हानिकारक जीवाणुलाई हटाउने वा नष्ट गर्ने क्षमता राख्छ ।
परियोजनाका प्रमुख गौतमले दुई वर्षअघि जापानमा अध्ययनका क्रममा सिकेको यो प्रविधि पोखराको कास्कीकोटस्थित कुखुरा फार्ममा समेत सफल रूपमा प्रयोग गरिसकेको बताए । मुस्ताङमा सफल परीक्षणपछि अब म्याग्दी, पर्वत र बागलुङका सुन्तला बगैँचामा पनि यसको प्रयोग विस्तार गरिने भएको छ । परियोजनाका प्राविधिक गणेश जिसीका अनुसार किसानलाई तालिममार्फत जैविक झोल बनाउने सीप सिकाइनेछ ।