काठमाडौँ
नेपालको हिमाली पदमार्गमा अहिले बहिरा ट्रेकिङ गाइडहरूको सहभागिताले समावेशी पर्यटनको नयाँ अभ्यास सुरु भएको छ। शब्दभन्दा सांकेतिक भाषामार्फत हुने संवादले ट्रेकिङ क्षेत्रमा फरक पहिचान बनाइरहेको छ।
रसुवाका चोपप्रसाद पौडेल र सोलुखुम्बुका छिरी शेर्पा यस अभियानका प्रमुख उदाहरण बनेका छन्। चोपप्रसादले हालै कठिन मानिने मनास्लु सर्किट ट्रेक सफलतापूर्वक पूरा गरेका छन् भने छिरी शेर्पाले बहिरा पर्यटकहरूसँग समेत सांकेतिक भाषामार्फत ट्रेक सञ्चालन गर्दै आएका छन्।
तालिमपछि आफ्नो आत्मविश्वास बढेको चोपप्रसादले बताएका छन्। उनले ट्रेकिङ गाइड तालिमले सुरक्षा, व्यवस्थापन, अतिथि सत्कार र पदमार्ग सञ्चालनबारे महत्वपूर्ण ज्ञान दिएको बताए। तालिमपछि उनले विदेशी पर्यटकसँग सम्पर्क गरी ट्रेक सञ्चालनसमेत गरेका थिए।
छिरी शेर्पाले सांकेतिक भाषामार्फत विदेशी तथा बहिरा पर्यटकलाई गोक्यो, चोला पास र एभरेष्ट बेस क्याम्पसम्म सफल ट्रेक गराएको अनुभव सुनाएका छन्। उनका अनुसार शब्दभन्दा बुझाइ र व्यवहारले यात्रालाई सहज बनाउँछ।
सरोकारवालाहरूका अनुसार यो पहलले नेपालको पर्यटन क्षेत्रमा समावेशिता र समान अवसरको नयाँ ढोका खोलेको छ। बहिरा युवाहरूलाई अवसर दिए उनीहरू पनि सक्षम ट्रेकिङ गाइड बन्न सक्ने विश्वास व्यक्त गरिएको छ।