नेपाल र
बंगलादेशबीच सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यले ढाकामा ‘नेपाल फेस्टिभल–२०२६’ आयोजना गरिएको छ। बङ्गलादेशस्थित नेपाली राजदूतावास र बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीको सहकार्यमा बङ्गलादेश शिल्पकला एकेडेमीमा उक्त महोत्सव सम्पन्न भएको हो।
नेपालको विविध सांस्कृतिक तथा पाक परम्पराको प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजित महोत्सवमा फुड फेस्ट र सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो। कार्यक्रममा नेपाल र बङ्गलादेशबीचको सांस्कृतिक समानता उजागर गर्ने प्रयास गरिएको आयोजकहरूले बताएका छन्।
बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले महोत्सवले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग गर्ने बताए। उनले साझा सांस्कृतिक सम्पदाले जनस्तरको सम्बन्ध र आपसी समझदारीलाई सुदृढ बनाउँदै लगेको उल्लेख गरे।
कार्यक्रमका प्रमुख अतिथि बङ्गलादेशका संस्कृति मामिला मन्त्री निताइ रोयचौधरीले महोत्सवले दुई देशका जनतालाई नजिक ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले सांस्कृतिक आदानप्रदानमार्फत आपसी सहकार्यका नयाँ क्षेत्र पहिचान गर्न सकिने बताए।
कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका प्रतिनिधि, बङ्गलादेश शिल्पकला एकेडेमीका कलाकार तथा नेपाली विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। सो अवसरमा नेपाली मौलिक नृत्य र सङ्गीतसँगै बङ्गलादेशी लोककला र गजल प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।
महोत्सवमा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सञ्चारकर्मी, संस्कृतिप्रेमी र बङ्गलादेशस्थित नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।