काठमाडौँ
मुस्ताङका तीन स्थानीय तहमा पछिल्लो चार वर्षमा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको वार्षिक तथ्याङ्कअनुसार बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा याक, चौंरी, भेँडा–च्याङ्ग्रा तथा अन्य पशुधनमा ठूलो क्षति भएको हो।
एक्यापका अनुसार उक्त अवधिमा ६८ घरधुरीका पशुपालक किसान प्रभावित भएका छन्। हिउँ चितुवा, चितुवा र ब्वाँसोको आक्रमणका कारण पशुधनमा निरन्तर क्षति हुँदै आएको छ। पछिल्लो चार आर्थिक वर्षमा मात्रै १२ याक, ७ चौंरी, ११७ च्याङ्ग्रा, ३८ भेँडा–बाख्रा, २ खच्चड र ८ घोडा मरेका छन्।
आर्थिक वर्षगत विवरणअनुसार २०७९/८० मा ३१, २०८०/८१ मा ५६, २०८१/८२ मा ८६ र चालु आर्थिक वर्षको वैशाखसम्म ६६ वटा पशुधनमा क्षति पुगेको छ।
वन्यजन्तु क्षतिको राहत निर्देशिका, २०८० अनुसार एक्यापले प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ। सो अनुसार याक, चौंरी, घोडा र खच्चडका लागि अधिकतम ६० हजार रुपैयाँ तथा भेँडा–च्याङ्ग्राका लागि अधिकतम १० हजार रुपैयाँसम्म राहत दिइँदै आएको छ।
एक्यापका अनुसार हालसम्म चार वर्षको अवधिमा पशुधन क्षतिबापत २५ लाख २१ हजार रुपैयाँ राहत वितरण गरिएको छ भने चालु वर्षको वैशाखसम्म थप ५ लाख २९ हजार रुपैयाँ पीडितको बैंक खातामा उपलब्ध गराइएको छ।
एक्यापले जलवायु परिवर्तनका कारण चरन क्षेत्र घट्दै जानु, पानीका स्रोत सुक्दै जानु र वन्यजन्तु बस्ती नजिक आउने क्रम बढ्नुले पशुपालन व्यवसाय थप जोखिममा परेको जनाएको छ। साथै कमजोर गोठ तथा खोर संरचनाका कारण पनि क्षतिको दर बढ्दै गएको बताइएको छ।