काठमाडौँ : काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कोही पनि बालबालिका शिक्षाको नैसर्गिक अधिकारबाट वञ्चित हुन नहुने बताएकी छन्।
बालबालिकाको शिक्षा र आवासका लागि महानगरपालिका तथा निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र एन–प्याब्सनबीच भएको समझदारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन्।
कार्यवाहक प्रमुख डंगोलले बालबालिकालाई होस्टेलमा राखेर पढाउने व्यवस्थाका लागि निजी विद्यालयले देखाएको अग्रसरता र सौहार्दपूर्ण वातावरणको प्रशंसा गरिन्।
कार्यक्रममा उपस्थित बालबालिकालाई प्रोत्साहित गर्दै उनले लगनशील भएर अध्ययन गर्न र भविष्यमा असल नागरिक बन्न आग्रह गरिन्। बालबालिकाहरूसँग उनीहरूको रुचि र लक्ष्यबारे संवाद गर्दै डंगोलले डाक्टर, प्रहरी, सैनिक वा शिक्षक जे बने पनि समाजका लागि उपयोगी र असल मानिस बन्नुपर्नेमा जोड दिइन्।
महानगरपालिका र निजी विद्यालयबीच भएको यो सम्झौताले बालबालिकाको शैक्षिक भविष्य सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उनको छ।
डंगोलले भनिन्, ‘बालबालिकाले शिक्षाको अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो। यसमा प्याब्सन र एन–प्याब्सनले देशैभर सहयोग गर्न देखाउनुभएको तदारुकता निकै सह्रानीय छ।’
नदी किनारका अव्यवस्थित बस्तीबाट विस्थापित भई हाल होल्डिङ सेन्टरमा बसोवास गरिरहेका परिवारका बालबालिकाको शिक्षाका लागि काठमाडौँ महानगरले विशेष व्यवस्था गरेको हो। महानगरले बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन आवास सुविधासहितको शैक्षिक प्रबन्ध मिलाएको हो।
नदी किनारका अस्थायी टहरामा बसोवास गर्दै आएका परिवारहरू हाल वैकल्पिक व्यवस्था नहुन्जेलसम्मका लागि होल्डिङ सेन्टरमा आश्रित छन्। महानगरले विद्यार्थीको अध्ययन नरोकियोस् भन्ने हेतुले आवासीय विद्यालयको अवधारणा कार्यान्वयनमा ल्याएको जनाएको छ।
सम्झौतासँगै छनोट भएका विद्यार्थीले तोकिएका विद्यालयमा आवाससहितको निःशुल्क वा सहुलियतपूर्ण शिक्षा प्राप्त गर्नेछन्।