काठमाडौँ
लागुऔषध खैरो हेरोइनसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन्। उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र मातहतका टोलीहरूले पक्राउ गरेको ब्यूरोले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ५५९ ग्राम खैरो हेरोइन र १६ लाख ६३ हजार ५५० रुपैयाँ नगद बरामद गरिएको छ। कोटेश्वरस्थित ब्यूरो कार्यालयबाट खटिएको टोलीले ४९ ग्रामसहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बझाङको छब्बीसपाथिभेरा गाउँपालिका–१ का ३१ वर्षीय भरत ओखेडा, दोलखा मोलुङ गाउँपालिका–२ का ३६ वर्षीय गोपी कट्वाल र भारत विहारका ३४ वर्षीय मंगल राम रहेका छन्।
त्यसैगरी थानकोट शाखा र थानकोट वृत्तको टोलीले १९७ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उत्तर प्रदेशका ३५ वर्षीय तेजेन्द्र कुमार र २० वर्षीय विजय सिंह रहेका छन्।
यसैबीच पोखराबाट रौतहट घर भई पोखरा बस्ने २२ वर्षीया रुविना खातुन पनि पक्राउ परेकी छन्। उनको साथबाट ३० ग्राम खैरो हेरोइन, डिजिटल तराजु र ११ लाख ४८ हजार रुपैयाँ बरामद गरिएको छ।
सुर्खेतबाट थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१४ का २० वर्षीय प्रशान्त सुनार र सोही नगरका ४८ वर्षीय एकेन्द्रबहादुर सुनार रहेका छन्। उनीहरूको साथबाट ३ ग्राम खैरो हेरोइन र ५ लाख १५ हजार ५५० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।