काठमाडौँ
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संसद भवन हजारौँ सहिदको बलिदान र संघर्षको जगमा बनेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रचण्डले संसद भवन बाहिरबाट हेर्दा सिमेन्ट, इँटा र फलामले बनेको देखिए पनि यसको अन्तर्यमा हजारौँ सहिदको बलिदान रहेको उल्लेख गरे। उनले समावेशी प्रतिनिधित्वका लागि विभिन्न आन्दोलन भएको स्मरण गर्दै त्यसैको परिणामस्वरूप आजको संसद् बनेको बताए।
उनले भावुक हुँदै सहिद, बेपत्ता, घाइते योद्धा र आन्दोलनकारीप्रति कृतज्ञता प्रकट गरे। साथै, उनले इतिहासका विभिन्न चरणका आन्दोलनले वर्तमान राजनीतिक प्रणाली निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
सम्बोधनका क्रममा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन सफलताको पनि प्रशंसा गरे। उनले उक्त पार्टीले प्राप्त गरेको उल्लेखनीय सफलता लोकतान्त्रिक अभ्यासका लागि महत्वपूर्ण भएको टिप्पणी गर्दै सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन्।
उनले आफू नेतृत्वको दल निर्वाचन परिणाममा खुम्चिए पनि लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउन भूमिका निर्वाह गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।