काठमाडौँ - राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्तीमा गरिएको अनुगमनबाट प्राप्त तथ्य र सुझावसहितको संक्षिप्त प्रतिवेदन सरकारलाई पठाएको छ ।
उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा वर्षौँदेखि बसोबास गर्दै आएका सुकुम्बासी बस्तीका घरटहरा सरकारले हटाएको सन्दर्भमा आयोगले अनुगमन गरेको जनाएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार बासिन्दाहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलगायत अन्य मानवअधिकारको अवस्थाबारे विभिन्न समयमा गरिएको अनुगमनपछि प्रतिवेदन सरकारलाई बुझाइएको हो ।
प्रतिवेदनमा गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगीलाई आवश्यक पोषणयुक्त खानेकुरा र औषधि नियमित उपलब्ध गराउन सुझाव दिइएको छ । साथै लैङ्गिक संवेदनशील विषयहरूलाई सम्बोधन गर्न पनि आग्रह गरिएको छ ।
त्यसैगरी, होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन, बालबालिकाका लागि गुणस्तरीय शिक्षाको व्यवस्था गर्न तथा विस्थापितहरूको रोजगारी व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ ।
आयोगले नदी किनार र सरकारी जग्गामा बसेका सुकुम्बासीहरूको यथार्थ लगत तयार गरी दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने सुझाव पनि दिएको छ । प्रतिवेदनमा सांस्कृतिक महत्वका संरचनाको स्थानान्तरण तथा वास्तविक सुकुम्बासीको पहिचान गरी उचित बसोबास व्यवस्थापन गर्न आग्रह गरिएको जनाइएको छ ।