काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलभित्रको विवाद चर्किँदै गएपछि पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले समाधानका लागि सक्रियता बढाएका छन्। संसदीय दलको नेतृत्वलाई लिएर देखिएको आन्तरिक विवाद मिलाउन उनले सुदूरपश्चिमका एमाले प्रदेशसभा सदस्यहरूलाई काठमाडौँ बोलाएका हुन्।
अध्यक्ष ओली र प्रदेशसभा सदस्यहरूबीच बुधबार भक्तपुरको गुण्डुमा निर्णायक छलफल हुने तय भएको छ। छलफलमा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलसहित सबै ११ जना सांसद सहभागी हुनेछन्। बैठक बिहान ११ बजेका लागि तय गरिएको भए पनि समय केही परिवर्तन हुन सक्ने जनाइएको छ।
सुदूरपश्चिम प्रदेशसभा एमाले संसदीय दलका नेता रावलको कार्यशैलीप्रति लामो समयदेखि सांसदहरू असन्तुष्ट छन्। निर्वाचन परिणाम आएदेखि नै केही सांसदहरूले उनको नेतृत्व परिवर्तन गर्नुपर्ने माग उठाउँदै आएका छन्। सहमतिबाट नेतृत्व परिवर्तन नभए लोकतान्त्रिक प्रक्रियाबाट नयाँ नेता चयन गर्नुपर्ने अडान उनीहरूले राख्ने तयारी गरेका छन्।
बैठकमा संसदीय दलको नेताको विषयसँगै प्रदेश सरकारको भविष्य र सम्भावित नयाँ सत्ता समीकरणबारे पनि छलफल हुने बुझिएको छ। हाल सुदूरपश्चिममा नेपाली काँग्रेसका कमल बहादुर शाहको नेतृत्वमा एमालेसहितको गठबन्धन सरकार सञ्चालनमा छ। तर पछिल्लो समय कांग्रेससँगको सहकार्यप्रति एमालेभित्र असन्तुष्टि बढ्दै गएको छ।
एमाले स्रोतका अनुसार कांग्रेससँगको गठबन्धन तोडेर अन्य वाम दलहरूसँग नयाँ सत्ता समीकरण बनाउने विषयमा केन्द्रमा पनि छलफल भइरहेको छ। प्रदेशसभामा एमालेका ११ र नेकपाका २२ सांसद रहेका छन्, जसमा एक जना निलम्बित छन्। यदि दुवै पक्षबीच सहमति जुटेमा नयाँ सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने देखिन्छ।
यसैबीच, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री तथा एमाले नेता हिरा सार्कीले संसदीय दलको नेताबारे छलफल हुने पुष्टि गरेका छन्। तर सरकार परिवर्तनको विषयमा हालसम्म कुनै ठोस निर्णय नभएको उनले बताएका छन्। उनले केन्द्रको निर्णयअनुसार अघि बढ्ने स्पष्ट पार्दै हाल सरकार सञ्चालनमै केन्द्रित रहेको उल्लेख गरे।