काठमाडौँ
प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालले संसदीय दलका सबै पदाधिकारीहरूको पदपूर्ति छिट्टै पूरा गर्न राजनीतिक दलहरूलाई सुझाव दिएका छन्। सोमबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रमुख सचेतकहरूसँग भएको छलफलका क्रममा उनले यस्तो सुझाव दिएका हुन्।
सभामुख अर्यालले सदनको कामकारबाही प्रभावकारी रूपमा सञ्चालन गर्न संसदीय दलका पदाधिकारीहरूको विवरण यथाशीघ्र संसद् सचिवालयमा उपलब्ध गराउन पनि आग्रह गरेका थिए। केही दलहरूले अझै पदाधिकारी विवरण नबुझाएको भन्दै उनले त्यसलाई छिटो पूरा गर्नुपर्नेमा जोड दिएका थिए।
बैठकमा सहभागी नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाका अनुसार सभामुखले पहिलोपटक प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै संसदीय कामकाज सहज बनाउन समन्वय र सहकार्य आवश्यक रहेको बताएका थिए। उनले पदाधिकारीहरूको सूची सचिवालयमा बुझाउन पनि सुझाव दिएको थापाले जानकारी दिइन्।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा सचेतकहरूको सहभागिता रहेको थियो। तर श्रम संस्कृति पार्टीका प्रतिनिधि भने बैठकमा उपस्थित थिएनन्। संसद् सचिवालयका अनुसार उक्त पार्टीलाई टेलिफोनमार्फत जानकारी गराइए पनि उनीहरू बैठकमा सहभागी भएनन्।