काठमाडौँ
साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा गिरावट जारी रह्यो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ विन्दुमा झरेको छ। बजार खुलेसँगै ओरालो लाग्न थालेको परिसूचक दिनभर दबाबमा रहँदा २७५० को मनोवैज्ञानिक विन्दुभन्दा तल झर्न पुगेको हो।
आजको कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको देखिएको छ। कुल २३५ कम्पनीको मूल्य घट्दा केवल ३० कम्पनीको मूल्य बढेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ। दिनभरिमा ३५१ स्क्रिप्टका १ करोड २१ लाख ३४ हजार ३६० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ९८ करोड ६२ लाख ९४ हजार १७३ रुपैयाँ पुगेको छ।
गिरावटका बीच कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने उल्लेख्य नाफा कमाएका छन्। उक्त कम्पनीको सेयर मूल्य १३.८१ प्रतिशतले बढेर २६७८ रुपैयाँ पुगेको छ। यद्यपि अन्य कम्पनीहरूमा खासै सुधार देखिएन। यसैबीच कुमारी बैंकको डिबेञ्चर मूल्य ११.४६ प्रतिशतले घटेको छ भने अन्य स्क्रिप्टहरूमा दोहोरो अंकको गिरावट देखिएको छैन।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो, जसको २४ करोड १९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। त्यस्तै पाल्पा सिमेन्टको २० करोड २२ लाख रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट बैंकको १८ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
समूहगत सूचकतर्फ म्युचुअल फन्ड, विकास बैंक र ट्रेडिङ समूहमा मात्र वृद्धि देखिएको छ भने अन्य सबै समूह घटेका छन्। सबैभन्दा बढी गिरावट उत्पादनमूलक क्षेत्रमा २.२४ प्रतिशतले भएको छ।