मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

Author

सजिलो पत्रिका

२०८३ साउन ०४, सोमबार

5
Share
Featured
  • मदन पुरस्कार–२०८२ का लागि २९८ पुस्तकमध्ये उत्कृष्ट १० कृति छनोट भएका छन्।
  • अन्तिम सूचीमा ५ उपन्यास, १ कथासंग्रह, १ कवितासंग्रह तथा इतिहास, संस्कृति र आध्यात्मिक विषयका पुस्तक समावेश छन्।
  • छनोट भएका १० कृतिमध्ये एकलाई मदन पुरस्कार–२०८२ प्रदान गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको अन्तिम सूची सार्वजनिक गरेको छ। गुठीले प्राप्त २९८ पुस्तकमध्येबाट छनोट गरिएका यी कृतिमध्ये एकलाई वर्ष २०८२ को प्रतिष्ठित मदन पुरस्कार प्रदान गरिने जनाएको छ। अन्तिम सूचीमा परेका कृतिहरूमा पाँचवटा उपन्यास छन्। यसैगरी एउटा कथासंग्रह र एउटा कवितासंग्रह छन्। सूचीमा रहेका अन्य पुस्तक इतिहास, संस्कृति र आध्यात्मिक एमव् मनोवैज्ञानिक विषयमा आधारित छन्।

अज्ञात : केशवराज ज्ञवालीको ‘अज्ञात’ गोर्खा राज्यको विस्तारमा अनगन्ती अज्ञात मानिसको कथालाई उजागर गर्ने प्रयत्न गरिएको उपन्यास हो। यसमा नेपाल राज्य र नेपाल अंग्रेज युद्धलाई जोड्दै त्यहाँका अज्ञात पात्रहरुको कथालाई उतारिएको छ।

इथा : केशव दाहालको ‘इथा’ ऐतिहासिक र दार्शनिक उपन्यास हो। ‘इथा’ ले करिब २४०० वर्षअघिको ऐतिहासिक, पौराणिक र किंवदन्तीमूलक परिवेशलाई आधार बनाउँदै वैशालीबाट लिच्छविहरू कसरी मञ्जुपट्टन आइपुगे र सौमरहरूमाथि विजय हासिल गरी नयाँ राज्यको स्थापना गरे भन्ने विषयलाई प्रस्तुत गरेको छ। यसमा इतिहास, संघर्ष र महिला स्वाभिमानको सशक्त अभिव्यक्ति ‘इथा’ प्रस्तुत गरिएको छ। उपन्यासका महिला पात्रहरूलाई पौरस्त्य दर्शनको ‘शक्ति’ अवधारणासँग तुलना गर्दै उनीहरू पात्र मात्र नभई प्रतीकका रूपमा उभिएका छन्।

परिधि : उमा सुवेदीको उपन्यास ‘परिधि’ मा भ्रमपूर्ण मानसिकता, विषाद, असन्तुलन तथा अधिकांश छलछामपूर्ण मुखुण्डो लगाएका पात्रहरूले निर्माण गरेको मायावी केन्द्रको चर्चा छ। परिधिले मान्छेको मनमस्तिष्क र चेतनाको कुरा बताउन खोजेको छ। यसका पात्रहरूको भोगाइ र सोचाइ आममान्छेभन्दा भिन्न भएकैले पनि कृतिमा रहस्य, कौतूहल, जिज्ञासा र सम्भावनाहरू जीवन्त छन्।

महायुग : साहित्यकार सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ मा स्त्रीको सीमातीत शारीरिक शक्ति र आत्मालाई चिनेपछि मात्र सारा मानव संसार र सृष्टि उज्यालो हुने सन्देश पाइन्छ। उपन्यासमा एक नारीको आत्मजागृतिको कथालाई चार पुस्तामा चित्रांकन गरिएको छ । उपन्यासकार सीमाका अनुसार समाजले आफू अनुकूलको बन्धनभित्र स्त्रीलाई राख्ने गरेको छ तर स्त्रीभित्र जुन दबिएको स्त्री–शक्ति छ, त्यसलाई जागृत गराई बाँच्न चाहेको परिकल्पनामा उपन्यास अभिव्यक्त भएको छ।

सलह : श्रवण मुकारुङको ‘सलह’ पूर्वी पहाडको प्रकृति, संस्कृति, समाज र मानवीय संघर्षलाई काव्यिक भाषामा प्रस्तुत गरिएको उपन्यास हो। उपन्यासको केन्द्रमा खोटाङकी राई युवती नायुमा छिन्, जसको गाउँदेखि धरान हुँदै काठमाडौँसम्मको विस्थापन, प्रेम, अभाव, सुकुमवासी जीवन, जेलयात्रा र बारम्बार भत्किएर फेरि उठ्नुपर्ने नियतिले नेपाली समाजका असंख्य अदृश्य कथाको प्रतिनिधित्व गर्छ। कवि तथा गीतकारका रूपमा स्थापित मुकारुङले आफ्नो विशिष्ट भाषिक सौन्दर्य, संवेदनशीलता र दार्शनिक दृष्टिलाई आख्यानमा पनि उस्तै प्रभावकारी रूपमा उतारेका छन्, जसका कारण ‘सलह’ कथा मात्र नभई कविता, गीत र जीवनबोधको समन्वित बनेको छ।

उत्कर्ष : ‘उत्कर्ष’ ललित विष्टको कथा सङ्ग्रह हो। सङ्ग्रहमा सामाजिक सौन्दर्यको शिल्पमा बुनिएको १० वटा कथा छन्। यथार्थ र कल्पनाको धमिलो सिमानालाई भत्काएर पाठकलाई नयाँ स्वाद र चेतनाको संसारमा लैजाने कथाहरू यसमा समावेश छन्। विष्टले यस सङ्ग्रहमा मानवीय अवचेतनका गहिराइका साथ जीवनका विसंगत पक्षहरूलाई बिम्ब र काव्यात्मक भाषामा उतारेका छन्। कथाहरूले पाठकलाई विस्मय र अस्तित्वको निर्मम सत्यसँग आमनेसामने गराउँछन् ।

स्वस्पर्श : बालरोग विशेषज्ञ तथा लेखक डा. नवराज केसीको ‘स्वस्पर्श’ आशा, प्रेरणा र खुसीका कथा समेटिएको पुस्तक हो। ‘स्वस्पर्श’ मानिसले बिर्सिरहेको ‘स्व’ खोज्ने एउटा आनन्ददायी पठनयात्रा हो। आधुनिकताको दौडमा आफैँलाई बिर्सिएर बाहिरी संसारमा खुसी खोजिरहेका पाठकहरूका लागि यो पुस्तक एउटा आध्यात्मिक र मनोवैज्ञानिक मार्गदर्शक बनेको छ।

हिउँद : हिउँद नदीशको कविता सङ्ग्रह हो। यसमा रहेका कविताले मौन, प्रेम र अस्तित्वबीचको सूक्ष्म सम्बन्धलाई सशक्त ढंगले प्रस्तुत गरेको छ। नेपाल मण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास : रोशनकुमार झाको ‘नेपाल मण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ नेपालको ऐतिहासिक सहर सिम्रौनगढ र त्यसको नेपाल मण्डलसँगको सम्बन्धमा केन्द्रित ग्रन्थ हो। यसमा नेपाल मण्डल र सिम्रौनगढबीचको ऐतिहासिक सम्बन्धका नयाँ पाटा उजागर गरिएको छ।

नेवार समुदायका परम्परागत मुकुन्डोनाच : वीणा जोशी (राजभण्डारी) को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ दशकौँदशक लगाएर शोध, अनसुन्धान, अनुभव र खोज गरेर लेखिएको पुस्तक हो। पुस्तकमा ऐतिहासिक परिप्रेक्ष्यमा नाच, नेवार समुदायको परम्परागत मुकुन्डोनाचका रंगभूमि, रंगकर्मी नेवारहरुको संक्षिप्त चिनारी र नेपाल उपत्यकामा नृत्यको इतिहास एवं थप आयामबारे विस्तृत चर्चा छ।

छनोटमा परेका यी १० कृतिमध्येबाट एक उत्कृष्ट कृतिलाई वर्ष २०८२ को मदन पुरस्कार प्रदान गरिनेछ।

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...