काठमाडौँ ।
‘नयाँ र स्वच्छ राजनीति’को नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि गृहमन्त्रालय फेरि एकपटक असपल सावित भएको छ । पार्टीका प्रभावशाली नेता सुधन गुरुङले गृहमन्त्री नियुक्त भएको २७ औँ दिनमा राजीनामा दिएसँगै रास्वपाभित्रको आन्तरिक सुशासन र उम्मेदवार छनोटको मापदण्डमाथि गम्भीर प्रश्न खडा भएको छ ।
यो रास्वपाका लागि कुनै नयाँ घटना भने होइन । यसअघि पार्टी सभापति रवि लामिछाने पनि गृहमन्त्री बनेको ३२ दिनमै पदबाट बाहिरिनु परेको इतिहास छ । इतिहासको यो पुनरावृत्तिले रास्वपालाई राजनीतिक रूपमा मात्र होइन, नैतिक रूपमा पनि रक्षात्मक अवस्थामा पु¥याएको छ ।
गृहमन्त्री सुदन गुरुङको बहिर्गमनको मुख्य कारण एक विवादित व्यवसायीसँगको सेयर साझेदारी रहेको तथ्य सार्वजनिक हुनु हो । शक्तिशाली मन्त्रालय सम्हालेको व्यक्ति र विवादित व्यावसायिक घरानाबीचको आर्थिक सम्बन्धले ‘स्वार्थको द्वन्द्व’ निम्त्याउने भन्दै चौतर्फी आलोचना भएपछि गुरुङले बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई राजीनामा बुझाएका हुन् ।
राजीनामा दिँदै गुरुङले भनेका छन्, “ममाथि उठेका प्रश्नहरूको निष्पक्ष छानबिन होस् र सरकारको छविमा आँच नआओस् भन्नका लागि मैले पद त्याग गरेको हुँ । पदमा बसेर छानबिनलाई प्रभावित पार्नु मेरो नैतिकताले दिँदैन ।” यद्यपि, मन्त्री बन्नुअघि नै यस्ता व्यावसायिक सम्बन्धबारे पार्टीले किन ध्यान दिएन भन्ने प्रश्न अहिले पेचिलो बनेको छ ।
यसअघि सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणको विवादमा तानिएपछि ३२ दिनमै गृहमन्त्रालयबाट बाहिरिनु परेको थियो । लामिछानेको बहिर्गमनले पार्टीको साखमा धक्का लागेको बेला सुधन गुरुङको २७ दिने कार्यकालले रास्वपाको ‘ड्यू डिलिजेन्स’ क्षमतामाथि नै शङ्का उब्जाएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार, रास्वपाले सत्ताको स्वाद चाख्ने हतारोमा आफ्ना मन्त्रीहरूको पृष्ठभूमि र व्यावसायिक स्वार्थबारे पर्याप्त अध्ययन नगर्दा यस्तो दुर्घटना बारम्बार भइरहेको छ । गृहमन्त्रालय जस्तो संवेदनशील निकायमा रहने व्यक्तिको विगत ‘दूधले धोएको’ हुनुपर्नेमा रास्वपाले बारम्बार विवादित पात्रहरूलाई नै अघि सार्नु उसको राजनीतिक अपरिपक्वताको सङ्केत हो ।
रास्वपाले आफ्ना मन्त्रीहरूको राजीनामालाई ‘उच्च नैतिक आचरण’का रूपमा व्याख्या गर्ने गरेको छ । तर, सर्वसाधारण र विपक्षी दलहरूले यसलाई ‘संरचनात्मक कमजोरी’ र ‘उम्मेदवार छनोटको त्रुटि’का रूपमा हेरेका छन् । “प्रश्न उठेपछि राजीनामा दिनु राम्रो कुरा हो, तर प्रश्न उठ्ने मान्छेलाई नै किन पटक–पटक मन्त्री बनाइन्छ ?” भन्ने प्रश्न सामाजिक सञ्जालमा व्याप्त छ ।
विशेष गरी, शक्तिशाली मन्त्रालयमा पुगेर आफ्ना व्यावसायिक साझेदार वा स्वार्थ जोडिएका समूहलाई संरक्षण गर्न सक्ने जोखिमलाई रास्वपाले नजरअन्दाज गरेको देखिन्छ । यसले पार्टीको ‘स्वच्छ राजनीति’को जगलाई नै कमजोर बनाउँदै लगेको छ ।
लगातार दुई गृहमन्त्री विवादमा परेर बाहिरिएपछि प्रधानमन्त्री बालेनमाथि पनि दबाब बढेको छ । हाल गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्हाल्ने निर्णय गरेका छन् । तर, सत्तारूढ गठबन्धनभित्र रास्वपाको भागमा परेको यो मन्त्रालय अब कसले पाउने भन्नेमा अन्योल छ ।
विपक्षी दलहरूले यस घटनालाई सरकारको असफलता र रास्वपाको ‘दोहोरो चरित्र’ भन्दै कडा आलोचना गरिरहेका छन् । गठबन्धनका अन्य दलहरूले पनि रास्वपाका कारण सरकारको छवि धुमिल भएको भन्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।
रास्वपाका लागि गृह मन्त्रलय एउटा यस्तो ‘जालो’ बनेको छ, जहाँ ऊ जति पटक पस्छ, उति नै नराम्ररी फस्छ । ३२ दिनमा रवि र २७ दिनमा सुधनको बहिर्गमनले रास्वपालाई एउटा कठोर पाठ सिकाएको हुनुपर्छ— सत्तामा जानु मात्र ठुलो कुरा होइन, सत्ता टिकाउन र सुशासन दिनका लागि पात्रहरूको छनोटमा इमानदारिता र गम्भीरता आवश्यक छ ।
अब रास्वपाले यो ‘अभागी’ चक्रलाई तोड्नका लागि आफ्ना आन्तरिक संयन्त्रहरूलाई सुदृढ बनाउँछ कि फेरि अर्को विवादित पात्रलाई गृहमन्त्रालयको कुर्सीमा पठाउँछ, यसैले रास्वपाको भविष्य र उसको राजनीतिक इमानदारिताको फैसला गर्नेछ ।