काठमाडौँ
बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार गठन भएपछि नेपालको कूटनीतिक अभ्यासमा नयाँ शैली सुरु भएको देखिएको छ। परम्परागत रूपमा प्रधानमन्त्रीलाई व्यक्तिगत रूपमा भेटेर शुभकामना दिने राजदूतहरूको अभ्यास यसपटक तोडिएको छ।
प्रधानमन्त्रीले चैत २५ गते नेपालस्थित सबै राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूलाई एकैपटक भेट्दै सामूहिक रूपमा शुभकामना ग्रहण गरेका थिए। यससँगै व्यक्तिगत रूपमा भेटघाट गर्ने पुरानो प्रचलन अन्त्य गरिएको छ। सो अवसरमा उनले परराष्ट्र नीतिबारे समेत जानकारी गराएका थिए।
यस निर्णयपछि प्रधानमन्त्रीसँग व्यक्तिगत भेटघाट गर्ने परम्परा लगभग रोकिएको छ। यसअघि प्रधानमन्त्री निवास तथा कार्यालयमा राजदूतहरूको भिड लाग्ने गरे पनि अहिले त्यस्तो अवस्था देखिएको छैन।
यस्तै, नेपाल भ्रमणमा आएका अमेरिकी विदेश मन्त्रालयका सहायक विदेशमन्त्री एस पावल कपुर र प्रधानमन्त्रीबीच भेटसमेत भएन। यद्यपि उनले रवि लामिछानेसँग भने भेट गरेका थिए।
सरकारले कूटनीतिक भेटघाटलाई थप व्यवस्थित बनाउन परराष्ट्र मन्त्रालयमार्फत अनुमति प्रणाली लागू गरेको छ। अब कुनै पनि राजदूत वा कूटनीतिज्ञले मन्त्री वा सरकारी अधिकारीसँग भेट्नुअघि अनिवार्य रूपमा मन्त्रालयको स्वीकृति लिनुपर्नेछ। साथै, आवश्यक पर्दा मन्त्रालयका अधिकारीहरू पनि भेटघाटमा सहभागी हुने व्यवस्था गरिएको छ।
नयाँ सरकार गठनपछि मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे औपचारिक प्रशिक्षणसमेत दिइएको छ। यसले मन्त्रीहरूलाई कूटनीतिक विषयमा सचेत बनाउँदै अनावश्यक भेटघाटलाई नियन्त्रण गर्ने उद्देश्य राखेको सरकारको भनाइ छ।
पूर्वपरराष्ट्रमन्त्री भेषराज थापा लगायतका कूटनीतिक जानकारहरूले बदलिएको परिस्थितिअनुसार यस्तो अभ्यास आएको बताएका छन्। उनीहरूका अनुसार उच्चस्तरीय भ्रमणमा प्रधानमन्त्रीसँग भेट अनिवार्य नहुने भएकाले यसलाई नयाँ कूटनीतिक शैलीका रूपमा लिन सकिन्छ।