काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक तथा कार्यकर्ताहरूलाई लक्षित गर्दै कडा चुनौती दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले आफ्नो विरुद्धमा रोस्ट बनाउन, गाली गर्न र नक्कली अश्लील भिडियो बनाउन समेत चुनौती दिएका हुन्।
शाहीले केही समूहले सामाजिक सञ्जालमा 'लाइक' र 'भ्युज' बटुलेर डलर कमाउने उद्देश्यले नेपाली समाजलाई भ्रमित पारिरहेको आरोप लगाएका छन्। माइतीघर मण्डलामा हुने प्रदर्शनलाई 'तमासा' को संज्ञा दिँदै उनले सरकारलाई प्रश्न गर्नुलाई अपराध ठान्ने मानसिकताको कडा आलोचना गरे।
"याद राख– प्रचारको आयु छोटो हुन्छ, सत्यको यात्रा लामो," शाहीले लेखेका छन्, "झूटले केही समय भ्रम फैलाउन सक्छ, तर सत्यलाई कहिल्यै हराउन सक्दैन।" उनले सत्य एक्लै भए पनि अन्तिमसम्म खडा हुने दाबी गर्दै जस्तोसुकै प्रहार भए पनि आफू विचलित नहुने स्पष्ट पारेका छन्।