काठमाडौँ
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट देखिएको छ। अमेरिकी डलर सूचक बलियो बन्नु र संयुक्त राज्य अमेरिका–इरानबीचको बढ्दो तनावले सुनको मूल्यमा दबाब परेको विश्लेषकहरूले बताएका छन्। डलर बलियो हुँदा अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि सुन महँगो पर्न जान्छ, जसका कारण यसको माग घट्ने गर्दछ।
यसैबीच, अमेरिकी १० वर्षे ट्रेजरी बन्डको ब्याजदर बढ्नुले पनि सुनमा आकर्षण कम गरेको छ। ब्याज नदिने सम्पत्ति भएकाले सुनको विकल्पमा लगानीकर्ताहरूले उच्च प्रतिफल दिने साधनतर्फ आकर्षित हुने हुँदा सुनको मूल्य घट्ने प्रवृत्ति देखिएको हो। न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा स्पट गोल्डको मूल्य करिब ०.७ प्रतिशतले घटेर प्रतिऔंस ४ हजार ७९३ डलर ९८ सेन्टमा पुगेको छ, जुन अप्रिल १३ यताकै न्यून स्तर हो। अमेरिकी फ्युचर्स बजारमा जुन डेलिभरीको सुनको मूल्य पनि १.४ प्रतिशतले घटेको छ।
अमेरिका–इरानबीचको तनाव र स्ट्रेट अफ होर्मुज क्षेत्रमा देखिएको अस्थिरताले कच्चा तेलको मूल्य बढाएको छ। तेलको मूल्य वृद्धि हुँदा विश्वव्यापी महँगी बढ्ने चिन्ता बढ्छ, जसले कमोडिटी बजारमा समग्र असर पार्ने गर्छ। अमेरिकी नौसेनाले इरानी कार्गो जहाज नियन्त्रणमा लिएपछि तनाव थप चर्किएको र इरानले प्रतिकारको चेतावनी दिएको छ।
फेब्रुअरी अन्त्यदेखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता सुनको मूल्य करिब ८ प्रतिशतले घटिसकेको छ। उच्च ऊर्जा मूल्य र बढ्दो मुद्रास्फीतिको चिन्ताका कारण ब्याजदर लामो समयसम्म उच्च रहने अपेक्षाले पनि सुन बजारमा दबाब सिर्जना गरेको हो।
यता भारतमा चाडपर्व लक्षित मुख्य खरिद सिजनमा समेत सुनको माग कमजोर देखिएको छ। उच्च मूल्यका कारण गहनाको माग घटे पनि लगानीका रूपमा केही माग भने कायम रहेको जनाइएको छ। सोमबारको कारोबारमा चाँदी, प्लाटिनम र प्यालेडियमजस्ता अन्य बहुमूल्य धातुहरूको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ।