काठमाडौँ।
तारकेश्वर नगरपालिका–७ चिम्वर पोखरीस्थित श्री गणेश मन्दिरमा आयोजित वार्षिक रथ यात्रा बिहिवार भव्य रूपमा सम्पन्न भएको छ। धार्मिक श्रद्धा र सांस्कृतिक उत्सवको प्रतीकका रूपमा लिइने यो रथ यात्रा नयाँ वर्षको अवसरमा वैशाख १ गतेदेखि सुरु भई वैशाख ३ गते समापन गरिएको हो।
तीन दिनसम्म चलेको यस विशेष सांस्कृतिक उत्सवमा परराष्ट्र मन्त्री शिशिर खनालको समेत उपस्थिति रहेको थियो। मन्त्री खनालले स्थानीय मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

विगतका वर्षहरूमा झैँ यस वर्ष पनि श्री गणेशको रथलाई स्थानीय विभिन्न टोल, बस्ती र चोकहरूमा परिक्रमा गराइएको थियो। रथ यात्राको अन्तिम दिन स्थानीय बासिन्दा, भक्तजन, बटुक समूह तथा विभिन्न सामाजिक संघसंस्थाहरूको उत्साहजनक र बाक्लो सहभागिता रहेको थियो।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटिएका आयोजक समितिका पदाधिकारीहरूले सहयोगी हातहरूप्रति आभार व्यक्त गरेका छन्। समितिका अध्यक्ष रामचन्द्र श्रेष्ठ, सचिव राजिव श्रेष्ठ र कोषाध्यक्ष विष्णु श्रेष्ठले रथ यात्रालाई सफल बनाउन साथ दिने सम्पूर्ण संघसंस्था, स्वयंसेवक, सुरक्षाकर्मी र स्थानीय बासिन्दालाई धन्यवाद दिए। साथै, उनीहरूले आगामी वर्षहरूमा यो रथ यात्रालाई अझ व्यवस्थित र भव्य रूपमा सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

स्थानीय बासिन्दाहरूले यस्ता धार्मिक र सांस्कृतिक कार्यक्रमले समुदायमा आपसी एकता, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गरेको बताएका छन्। श्री गणेश मन्दिरको यस रथ यात्रालाई तारकेश्वर क्षेत्रकै एक महत्त्वपूर्ण सांस्कृतिक पहिचान र सामुदायिक एकताको प्रतीकका रूपमा हेरिने गरिएको छ।