काठमाडौँ
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका कर्मचारीहरूले आर्थिक वर्ष २०८१/०८२ मा ३२ देशमा १५५ पटक विदेश भ्रमण गरेका छन्। मन्त्रालयको वार्षिक प्रगति प्रतिवेदनअनुसार इटालीदेखि रुवाण्डासम्मका विभिन्न देशमा कर्मचारीहरू गोष्ठी, तालिम र बैठकमा सहभागी हुन पुगेका हुन्।
उक्त अवधिमा दक्षिण कोरिया, फिलिपिन्स, चीन, थाइल्यान्ड, जापान, भारत, अष्ट्रेलिया, फ्रान्स, सिंगापुर लगायतका देशमा भ्रमण गरिएको छ। सबैभन्दा धेरै भ्रमण थाइल्यान्डमा ३६ पटक भएको छ भने भारतमा १९ पटक भ्रमण हुँदा सबैभन्दा बढी १०० जना कर्मचारी सहभागी भएका छन्।
यी भ्रमणहरूको अधिकांश खर्च एफएओ, यूएनडीपी, एडीबी, इसिमोड लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले बेहोरेका छन्। केही खर्च सम्बन्धित देशका सरकारले पनि व्यहोरेका छन् भने मन्त्रालयले सीमित कार्यक्रमको खर्च मात्रै उठाएको देखिन्छ।
यद्यपि, यस्ता भ्रमणबाट प्राप्त ज्ञान र अनुभव व्यवहारमा कति लागू भयो भन्ने विषयमा प्रश्न उठेको छ। पूर्वसचिव योगेन्द्र कार्की का अनुसार भ्रमणको उद्देश्य सिकाइ भए पनि सम्बन्धित क्षेत्रमा दक्ष व्यक्तिलाई पठाइनु अत्यन्त महत्वपूर्ण हुन्छ। असम्बन्धित व्यक्तिलाई पठाउँदा त्यस्ता भ्रमणबाट अपेक्षित उपलब्धि हासिल नहुने उनको भनाइ छ।
उनका अनुसार आलुसम्बन्धी कार्यक्रममा धान विज्ञ वा पशुपन्छी कार्यक्रममा असम्बन्धित कर्मचारी पठाइएमा त्यसले कृषि क्षेत्रमा कुनै ठोस योगदान दिन सक्दैन। मन्त्रालयका एक सहसचिवका अनुसार पनि विदेश भ्रमणमा कसलाई पठाउने भन्ने निर्णय मन्त्री र सचिवको तजबिजमा निर्भर हुने भएकाले कतिपय अवस्थामा असम्बन्धित कर्मचारी सहभागी हुने गरेका छन्।
अर्का पूर्वसचिव उदयचन्द ठाकुर ले भने युरोपेली देशको तुलनामा एसियाली देशहरूको भ्रमण बढी उपयोगी हुने बताएका छन्। उनका अनुसार एसियाली देशहरूमा सिकेका अभ्यास नेपालमा कार्यान्वयन गर्न सहज हुने भएकाले त्यस्ता भ्रमणबाट ठोस उपलब्धि हासिल भएका उदाहरणहरू समेत छन्।