काठमाडौँ
प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले नयाँ निर्वाचित सांसद र सरकारलाई नातावाद तथा कृपावादको 'भाइरस' बाट मुक्त हुन सुझाव दिएका छन्।
मंगलबार संसद्मा बोल्दै पुनले नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादलाई नेपालको विकासमा बाधक तत्वका रूपमा चित्रण गरे। "यी प्रवृत्तिहरू नेपालका लागि घातक भाइरस हुन्," उनले भने, "सदियौँदेखि जकडिएको यो भाइरसबाट नयाँ सांसदहरू बच्नुपर्छ र नयाँ सरकार यसबाट मुक्त हुन प्रयास गर्नुपर्छ।"
यसका साथै, पुनले मुलुकको आर्थिक समृद्धिका लागि विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले अनुसन्धान र नवप्रवर्तन बिना देशको विकास सम्भव नभएको बताउँदै यस क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गर्न र एक शक्तिशाली मन्त्रालय गठन गर्न सरकारसँग माग गरे। विज्ञान र प्रविधिलाई उपेक्षा गरेर मुलुकले आर्थिक फड्को मार्न नसक्ने उनको तर्क थियो।