काठमाडौँ
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६१ अंकले घट्दै २७५७.४० विन्दुमा पुगेर कारोबार बन्द भएको हो। दिनभर उतारचढाव देखिएको बजार अन्ततः घटेर समापन भएको हो।
मंगलबार कुल ३४५ कम्पनीका १ करोड ७४ लाख कित्ता सेयर ८१ हजार ५८२ पटकको कारोबारमार्फत ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम उल्लेख्य रूपमा घटेको छ।
बजारमा बैंकिङ, होटल, हाइड्रोपावर र अन्य समूहबाहेक अधिकांश सूचक घटेका छन्। कुल १७५ कम्पनीको मूल्य घट्दा ८२ कम्पनीको मूल्य बढेको छ भने १२ कम्पनी स्थिर रहेका छन्।
बजार घटे पनि केही जलविद्युत कम्पनीहरूले उल्लेख्य वृद्धि गरेका छन्। भुजुङ, सुपर खुदी र स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। त्यसपछि रिलायन्स स्पिनिङ मिल र आँखुखोला जलविद्युत क्रमशः धेरै कारोबार हुने कम्पनीमा परेका छन्।