काठमाडौँ
काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा अवैध क्रिप्टो करेन्सी र हुण्डी कारोबारमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा चार जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा चितवन घर भई हाल झम्सिखेल बस्ने ३२ वर्षीय सवन अधिकारी, तारकेश्वरका २५ वर्षीय आशिष अधिकारी, ठमेलका ३२ वर्षीय रबिन जि.आर. तथा इमाडोलका ३७ वर्षीय अनित्य शाक्य रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट ३० लाख रुपैयाँ नगद, ६ थान मोबाइल र एक थान एप्पल म्याकबुक बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू क्रिप्टो करेन्सीको खरिद–बिक्री तथा हुण्डीमार्फत ठूलो रकम ओसारपसारमा संलग्न रहेको देखिएको छ।
नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत अभौतिक मुद्रा तथा अवैध वित्तीय कारोबार गरेको आरोपमा उनीहरूमाथि मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डी कारोबार तथा अभौतिक मुद्रासम्बन्धी कसुरमा कारबाही अघि बढाइने छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।