काठमाडौँ
पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा निर्वाचनमा नेकपा कमजोर हुनुका कारणहरूको विस्तृत विश्लेषण प्रस्तुत गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्य संयोजन समिति बैठकमा उनले १४ वटा मुख्य कारणहरू औँल्याउँदै लिखित प्रतिवेदन पेश गरेका हुन्।
खनालका अनुसार पार्टी एकता घोषणा गरिए पनि त्यसलाई प्रभावकारी रूपमा सांगठनिक रूप दिन नसक्नु प्रमुख कमजोरी रह्यो। एकताका आधारभूत सिद्धान्तहरू सही भए पनि तिनलाई कार्यान्वयन गर्ने स्पष्ट कार्यदिशा नबनाइनु, विभिन्न समूहलाई एकतामा ल्याएपछि पनि व्यवस्थित रूपमा संगठित गर्न नसक्नु जस्ता पक्षले पार्टी कमजोर बनेको उनले उल्लेख गरेका छन्।
त्यसैगरी, नेतृत्वदायी कोर टिम नबन्नु, एकीकृत अभियान समयमै सुरु नगर्नु, पार्टी एकीकरणभन्दा सन्देश सभा र कार्यक्रममै ध्यान केन्द्रित हुनु, र उपलब्ध समयको सदुपयोग गर्न नसक्नु पनि हारका कारण बनेको उनको निष्कर्ष छ। पार्टीभित्र कमिटी प्रणाली प्रभावकारी नहुनु र निर्णय प्रक्रिया स्पष्ट नहुनुले संगठनात्मक कमजोरी झन् बढाएको उनले बताएका छन्।
खनालले जनसंगठनलाई एकताबद्ध गरी परिचालन गर्न नसक्नु, चुनावी अभियान कसका विरुद्ध केन्द्रित गर्ने भन्ने स्पष्ट रणनीति नहुनु, युवालाई प्रभावकारी रूपमा परिचालन गर्न नसक्नु र चुनावी अभियान सञ्चालनका लागि बलियो संयन्त्र नबनाइनु पनि कमजोरीका रूपमा औँल्याएका छन्।
उनका अनुसार यी आन्तरिक कमजोरीसँगै जनअसन्तुष्टि, सामाजिक सञ्जालको प्रभाव, नयाँ राजनीतिक शक्तिको उदय तथा बाह्य शक्तिहरूको चलखेलले समेत चुनावी परिणाममा असर पारेको छ। उनले भविष्यमा पार्टीलाई सुदृढ बनाउन संगठनात्मक एकता, स्पष्ट कार्यदिशा, युवाको परिचालन र प्रविधिको प्रभावकारी प्रयोगमा जोड दिनुपर्ने बताएका छन्।