रास्वपाले पाएको जनमत स्थायी होइन, जनताको सर्त हो !

Author

सजिलो पत्रिका

२०८२ चैत ०८, आइतबार

44
Share
Featured

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को नेतृत्वमा नयाँ सरकार बन्दै छ। हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जनताको व्यापक समर्थन प्राप्त गरी रास्वपा देशको पहिलो दल बनेको छ। नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण यही चैत १२ गते हुने गरी संघीय संसद् सचिवालयले सूचना जारी गरिसकेको छ। सम्भवतः चैत १३ गते रास्वपाकै वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीका रूपमा शपथ लिनुहुनेछ। रास्वपाका लागि यो जति सुखद क्षण हो, त्यति नै ठुलो चुनौतीको सुरुवात पनि हो।

किनभने, रास्वपालाई जनताले दिएको मत 'सर्तसहितको मत' हो। यो उधारो बाचामा फिर्ता गर्ने गरी दिइएको मत हो। सभापतिरवि लामिछानेले भने झैँ यो ‘जनताले खन्याएर दिएको मत’ मात्र होइन, बरु सर्तसहितको जिम्मेवारी हो। के हुन् त जनताका सर्त? लामो ताँती लागेर मुग्लान (विदेश) पस्न बाध्य भएका नेपालीले आफ्नै देशमा भविष्य देख्न पाऊन्, देश भ्रष्टाचारमुक्त होस्, र सार्वजनिक सेवा लिन सामान्य जनताले सास्ती भोग्नु नपरोस्। शिक्षा, स्वास्थ्य, यातायात, पूर्वाधार र रोजगारीमा आमूल परिवर्तन हुने आशामा नै जनताले रास्वपाको पक्षमा छाप लगाएका हुन्। अबका जनता सचेत र शिक्षित छन्, जसले आफ्नो मतमार्फत परिवर्तनको विद्रोह गरेका छन्।

चरम अनियमितता, वेथिति, नातावाद र कृपावादले थलिएको देशमा बेरोजगारीको पीडा र करको भारीले युवा वर्ग व्याकुल थियो। सदनबाट आफ्ना माग सम्बोधन हुने छाँटकाँट नदेखेपछि र परम्परागत नेतृत्वले कानमा तेल हालेर बसेपछि अन्ततः युवाहरू सडकमा उत्रिन बाध्य भए। भदौ २३ गतेको 'जेनजी आन्दोलन' त्यही आक्रोसको विस्फोट थियो। युवाको आवाज दबाउन खोज्ने पुरानो नेतृत्वको अहङ्कारले आक्रोसलाई उत्कर्षमा पुर्‍यायो। परिवर्तनको आशामा कति युवा सडकमा ढले त कति घाइते भए। त्यही रगत र पसिनाको आक्रोस रास्वपाको मतपेटिकामा पोखिएको हो।

यद्यपि, पुराना दलका नेताहरूले अझै पनि आफ्नो शैली सुधार्न सकेका छैनन्। चुनावी परिणाम लज्जास्पद हुँदा पनि रास्वपालाई 'तह लगाउँछौँ' भन्दै दम्भ देखाउनु विडम्बनापूर्ण छ। बरु, जनमतको कदर गर्दै उनीहरूले विवेकपूर्ण निर्णय लिनु श्रेयस्कर हुनेछ। जनताले अब नारामा सीमित सिद्धान्त होइन, व्यवहारमा परिवर्तन खोजेका छन्। सभापति लामिछानेले भने झैँ, जनताले जिताका जनप्रतिनिधिलाई अब गाउँघरको चौतारी र दोबाटोमा आफ्ना समस्या सुल्झाउँदै गरेको देख्न चाहन्छन्।

नेपाली कांग्रेसको ‘बदलौँ कांग्रेस, बदलौँ देश’ होस् वा एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’—यी नाराहरू मतपेटिकामा पुग्दा खोक्रा सावित भइसकेका छन्। यदि रास्वपाले पनि जनताको मर्म विपरीत काम गर्यो भने उसलाई 'पत्तासाफ' गर्न पनि जनता पछि हट्ने छैनन्। पुराना दलले आशालाई निराशामा बदलिदिँदा जनता थकित छन्। रास्वपालाई पुराना दलले जस्तो ३५–३६ वर्षको छुट छैन, अब जनतामा ३५–३६ महिना पनि पर्खने धैर्यता बाँकी छैन।

त्यसैले, चुनावी सभामा गरिएका बाचा र जनताका आशालाई कुठाराघात नगरी रास्वपाले काम गरोस्। आगामी नयाँ सरकारलाई हार्दिक शुभकामना!

यो समाचारमा

प्रतिनिधि सभाराष्ट्रिय स्वतन्त्र पार्टीरवि लामिछानेबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गरिमामय संसद की ‘सांसद साँझ’ ?

    लोकतन्त्रमा जनता नै सर्वोपरी हुन् । जनताद्वारा निर्वाचित जनप्रतिनिति सम्मिलित संसद सार्वभौम हुन्छ । जनताका प्रतिनिधिहरु सबैलाई सदनमा आफ्ना भनाई वा अभिव्यक्ति राख्न रोक तोक हुन्न । निर्धक्क राख्न पाउँछन्, सबै प्रतिनिधिले आफ्ना कुरा । त्यसैले भनिएको हो संसदलाई गरिमामय र सार्वभौम । सार्वभौमको अर्थ तथानाम वा जथाभावी चाँहि होइन

    Data is loading...

    Loading brands...

    Loading footer...