लोकतन्त्रमा जनता नै सर्वोपरी हुन् । जनताद्वारा निर्वाचित जनप्रतिनिति सम्मिलित संसद सार्वभौम हुन्छ । जनताका प्रतिनिधिहरु सबैलाई सदनमा आफ्ना भनाई वा अभिव्यक्ति राख्न रोक तोक हुन्न । निर्धक्क राख्न पाउँछन्, सबै प्रतिनिधिले आफ्ना कुरा । त्यसैले भनिएको हो संसदलाई गरिमामय र सार्वभौम । सार्वभौमको अर्थ तथानाम वा जथाभावी चाँहि होइन । संसदको आफ्नै नियम र प्रणाली छ । सार्वभौम भन्दैमा मर्यादा नै विर्सेर प्रस्तुत हुन पाइँदैन । जस्तो हालै देख्न पाइएको छ ।
नेपालमा राष्ट्रिय सभा अर्थात् माथ्लो सदन र प्रतिनिधि सभा अर्थात् तल्लो सदन गरेर संघीय संसद बनाइएको छ । राष्ट्रिय सभाले विधायकी र निर्देशनात्मक कार्य गर्ने भए पनि प्रतिनिधि सभाले सरकार गठन गर्ने र कार्यपालिकालाई दिशानिर्देश गर्ने व्यवस्था छ । तर, प्रतिनिधि सभालाई विजनेश दिने काम भने सरकारले गर्छ । त्यसकारण सक्तिपृथकीकरणको सिद्धान्त अनुसार राज्यका सबै अंगको आआफ्नै संरचना, मर्यादा र महत्व भए पनि एकअर्काको सहअस्तित्व पारिपालना गर्नै पर्ने प्रणालीमा हामी छौँ । यसको अर्थ आफ्नो हक वा अधिकारको कुरा गर्दा अर्काको अस्तित्वमाथि धावा बोल्ने कार्य संसदीय संस्कारको बर्खिलाप हुनजान्छ ।
यो कुरा संसदभित्र प्रवेश गर्ने जनताकाप्रनिधि सांसद हुन् वा संसदले चुनेको सरकारका सदस्य अर्थात् मन्त्री, प्रधानमन्त्री जो सुकैले परिपालना गर्नु पर्छ । संसदीय काम कारबाही सहज होस् भनेरै हाउसमा प्रतिनिधित्व गर्ने हरेक पार्टीको संसदीय दल गठन हुन्छ भने दलको प्रमुख सचेतक, सचेतक तोकेर सांसदहरुलाई रुल गर्ने परम्परा छ । हाउसमा के गर्ने, के नगर्ने ? कसरी प्रस्तुत हुने त्यहाँ प्रमुख सचेतकले अह्राए बमोजिम हुनुपर्छ । अनि, सभामुखले जरुरी विषयमा तिनै प्रमुख सचेतक तथा सचेतकसँग जुनसुकै बेला कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्न सक्छन् । सदनका अफ्ठ्यारा फुकाउने कार्यमा पनि यिनै पदाशीन जनप्रतिनिधिहरु अमुक स्टेकहोल्डर हुन् । तर, यो सबै जान्दा जान्दै संसदमा देखाइएको जात्रा आफैंमा सुधारभागी छ । अन्जानमा भएको गल्ती कानूनतः माफ हुने वा सजाय कम हुने व्यवस्था प्राकृतिक न्यायको सिद्धान्तले प्रतिपादन गरेको छ । तर, जानाजान गरिएका गल्तीहरु क्षम्य हुँदैनन् । ती सजायभागी हुन्छन् । त्यस कारण प्रधानमन्त्री, मन्त्री वा सत्तासिन दलका सांसद, विपक्षी दलका सांसद कोही कसैलाई पनि अमर्यादित भएर संसदमा उफ्रिने छुट छैन । सनकको भरमा महत्वपूर्ण बैठक छोडेर बैठकबाट बाहिरिने परिपाटी शोभनीय होइन । कानून निर्माण गर्ने विधायकहरु विधिमा बाँधिनु नै संसदीय मर्यादा पालना हुनु हो । आफ्नो संसदीय दलको निर्णय वा प्रमुख सचेतकको जानकारीविना हाउस बन्क गर्नु अप्रतिवद्धताको पराकाष्ठा हो । जुन् असंसदीय मात्रै होइन जनताले दिएको मतको अवमूल्यन समेत हो ।
कुरा रहयो संसदमा प्रधानमन्त्रीको अनुपस्थिति वा नबोलेको अथवा जवाफ छलेको । प्रधानमन्त्रीले त्यसो किन गरे भन्ने बारेको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले लिनुपर्छ र त्यसको उपयुक्त जवाफ दिनुपर्छ, सदनलाई । तर, त्यसैलाई विषय बनाएर संसदमा भाँडभैलो गर्ने कुरा राम्रो हो त ? पक्कै होइन । सत्ताधारीले जतिनै संसदीय मर्यादा उल्लंघन गरे पनि विपक्षीले त्यसो गर्नु हुँदैन । नभए जिम्मेवार र रचनात्मक प्रतिपक्ष बन्नै सकिन्न । सत्तापक्षबाट भएका कमजोरीलाई संसदीय अभ्यास वा प्रणालीबाटै सुधार वा उपचारमा लैजान सकिन्छ । सभामुखको कारबाहीलाई रचनात्मक सहयोग गर्नु पर्छ । जहाँ सभामुख वा सदनका सदस्य कोही स्वेच्छाचारी हुन पाइँदैन । संसदको गरिमा बचाउनुमा सत्ताधारीभन्दा बढी भूमिका प्रतिपक्षको हुन्छ । प्रतिपक्षलाई त्यसै वेटिङ सरकार भनिएको होइन । संसदीय मर्यादा पालन गरे मात्रै यो महत्व स्थापित हुन्छ । यो कुरा संसदमा सहभागी सबैले बुझ्न जरुरी छ । ता कि संसदलाई त्यसरी दिउँसै दोहोरी साँझ बनाइनु हुँदैन ।