काठमाडौँ।
विगत एक शताब्दीदेखि विश्वको राजनीति र अर्थतन्त्रलाई नियन्त्रण गरिरहेको ’कालो सुन’ अर्थात् पेट्रोलियम पदार्थको साम्राज्य यतिबेला इतिहासकै गम्भीर मोडमा आइपुगेको छ । कतारको रास लाफान औद्योगिक क्षेत्रमा इरानले गरेको पछिल्लो क्षेप्यास्त्र आक्रमणले विश्व ऊर्जा बजारमा मात्र होइन, दशकौंदेखि कायम ’पेट्रोडलर’ को वर्चस्वमा समेत ठूलो धक्का पुर्याएको छ ।
कतारको रक्षा मन्त्रालयका अनुसार इरानी आक्रमणबाट रास लाफानस्थित ग्यास उद्योग र इन्धन प्रशोधन केन्द्रमा व्यापक क्षति पुगेको छ । कतार ऊर्जा कम्पनीका प्रमुख साद अल काबीले यसबाट देशको १७ प्रतिशत उत्पादन क्षमता नष्ट भएको र पूर्ण मर्मतका लागि ३ देखि ५ वर्ष लाग्न सक्ने बताएका छन् । बीबीसी न्युजका अनुसार २६ अर्ब डलरको लगानी जोखिममा परेपछि कतारले इटाली, बेल्जियम, दक्षिण कोरिया र चीनजस्ता देशहरूसँगको आपूर्ति सम्झौतामा ‘फोर्स मेजेर’ (काबू बाहिरको परिस्थिति) घोषणा गर्नुपर्ने अवस्था आएको छ ।

यो संकट केवल एउटा क्षेत्रीय युद्धको परिणाम मात्र होइन, यो विश्वव्यापी आर्थिक शक्ति सन्तुलन परिवर्तनको संकेत पनि हो । सन् १९०८ मा इरानबाट सुरु भएको तेलको यात्रा र १९७४ मा स्थापित ’पेट्रोडलर’ प्रणाली (तेलको व्यापार डलरमा मात्र गर्ने सम्झौता) ले अमेरिकालाई विश्वको निर्विकल्प महाशक्ति बनायो । तर, अहिले ब्रिक्स (BRICS) राष्ट्रहरूको उदय र ’डिडलरराइजेसन’ (डलरको विकल्प खोज्ने अभियान) ले त्यो एकाधिकारलाई चुनौती दिइरहेको छ । चीनले युआन र भारतले रुपैयाँमा तेलको व्यापार सुरु गर्नुले सन् २०३० सम्ममा डलरको एकलौटी राज अन्त्य हुने प्रक्षेपण गरिएको छ ।
सन् २०३५ सम्ममा विश्वले खनिज इन्धनलाई विस्थापित गरी विद्युतीय सवारी र ’सेतो सुन’ भनिने लिथियम क्रान्तितर्फ पाइला चाल्नेछ । यसले मध्यपूर्वको भू–राजनीतिक महत्त्व घटाउँदै एसियाली शक्तिहरू—चीन र भारतलाई विश्व अर्थतन्त्रको केन्द्रमा ल्याउनेछ । सन् २०४७ सम्ममा विश्व पूर्ण रूपमा ’एसियाली शताब्दी’ मा प्रवेश गर्ने देखिन्छ ।
यो विश्वव्यापी उथलपुथल नेपालका लागि अवसर र जोखिमको नयाँ चेपुवा हो । तेलको माग घट्दा मध्यपूर्वमा निर्भर नेपालको रेमिट्यान्स र अदक्ष जनशक्तिको रोजगारीमा संकट आउन सक्छ । तर, विश्वले स्वच्छ ऊर्जा खोजिरहेको यो समयमा नेपालको ’जलविद्युत’ अमूल्य सम्पत्ति बन्न सक्छ । छिमेकी भारत र चीनको आर्थिक वृद्धिको लाभ लिन नेपालले आफ्नो कूटनीति र ऊर्जा व्यापारलाई समयमै परिमार्जन गर्न आवश्यक छ ।
इतिहासले सिकाएको छ— समयको पदचाप बुझ्न नसक्ने राष्ट्रहरू पछाडि पर्छन् । कतारको यो संकट र बदलिँदो विश्व–व्यवस्थाले नेपाललाई केवल दर्शक होइन, एक रणनीतिक र सचेत खेलाडी बन्न दबाब दिएको छ । -एजेन्सीहरुको सहयोगबाट