काठमाडौँ।
प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गर्दै मुलुकको सबैभन्दा ठूलो राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गरेको छ। १६५ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न हुँदा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिटमा सानदार जित दर्ता गरेको छ।
अन्य स्थापित दलहरूमध्ये नेपाली काँग्रेसले १८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ९ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले ८ सिट मात्र प्राप्त गरेका छन्। समानुपातिकतर्फ पनि रास्वपाले ४९ लाख ८७ हजारभन्दा बढी मतका साथ आफ्नो वर्चस्व कायम राखेको छ। हालको ट्रेन्ड कायम रहेमा समानुपातिकबाट थप ६० सिट पाउने र रास्वपाको कुल सिट संख्या १८५ पुग्ने देखिएको छ, जुन २७५ सदस्यीय प्रतिनिधिसभामा दुई-तिहाइ बहुमत (१८४ सिट) भन्दा बढी हो।
निर्वाचन आयोगका अनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा र राप्रपाले मात्र ३ प्रतिशतको 'थ्रेसहोल्ड' पार गर्ने देखिएको छ। नयाँ शक्तिका रूपमा उदाएको रास्वपाको यो लहरले पुराना दलहरूलाई निकै पछाडि छाडिदिएको छ।
यसैबीच, रास्वपाको यो अभूतपूर्व सफलतालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। सोमबार साँझ रास्वपा सभापति रवि लामिछाने र नेता बालेन्द्र शाह (बालेन)सँग टेलिफोन संवाद गर्दै प्रधानमन्त्री मोदीले चुनावी सफलताको शुभकामना दिएका हुन्। उनले नयाँ बन्ने सरकारसँग मिलेर नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।