काठमाडौँ।
प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा झापा-५ र चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले फराकिलो अग्रता कायम गरेका छन्।
झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई दोब्बरभन्दा बढी मतान्तरले पछि पारेका छन्। बिहान ११:१५ को परिणाम अनुसार बालेनले २,८७८ मत प्राप्त गर्दा ओलीले १,१३० मत मात्र पाएका छन्। बालेन ओलीभन्दा १,७४८ मतले अगाडि छन्। यस क्षेत्रमा नेपाली कांग्रेस र अन्य दलका उम्मेदवारहरू निकै पछाडि देखिएका छन्।
यस्तै, चितवन क्षेत्र नम्बर ३ मा रास्वपाकी सोबिता गौतमले आफ्नो अग्रतालाई थप बलियो बनाएकी छन्। गौतमले ४,९४४ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले २,९६० मत पाएकी छन्। गौतम र दाहालबीच १,९८४ मतको अन्तर रहेको छ। यहाँ एमालेका शंकर थपलिया ८५२ र कांग्रेसका टेकप्रसाद गुरुङ ५५६ मतका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन्। दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले सुरुवाती चरणदेखि नै आफ्नो पकड बलियो बनाएका छन्।